सिन्धुलीमाढी/निकासी कर लगाउने र कुनै पनि हालतमा लगाउन नदिने नगरप्रमुख र कार्यपालिका सदस्यहरुको अडानका कारणले कुहिरोको कागझैं रुमलिएको सिन्धुलीको कमलामाई नगरपालिकामा अहिलेसम्म कुनै पनि योजनाका कामहरु अगाडि बढ्न सकेको छैन । सिन्धुलीका अन्य ८ वटा पालिकाहरुले स्थानीय दररेट कायमगर्दै विकास निर्माणका कामलाई अगाडि बढाइरहेका बेला सदरमुकामको नगरपालिका भने अन्योलमैं रुमलिएको हो ।
निकासी कर लगाउनै नसक्ने नगरप्रमुख उपेन्द्र पोखरेलको भनाईपछि बहुमत कार्यपालिका सदस्यहरुले बैठक बहिस्कार गरेको एक घन्टा बित्न नपाउँदै संवाददातासम्मेलनको आयोजना गरेर निकासी कर किसानहरुलाई लाग्ने करका रुपमा प्रस्तुत गर्नुभएको थियो । म कुनै पनि हालतमा किसानले उत्पादन गरेको एक मुठा साग, एक मुठा गुन्द्रुक र एक मुठो लसुनमा मात्रै होइन, खसी बिक्रीमा पनि कर लगाउँदिन भनेर घोषणानैं गर्नुभयो । तर उहाँले सो घोषणा गरेको एक साता पनि बित्न नपाउँदै शनिवारे हाटबजारमा नगरपालिकाकै किसानहरुले आफ्नो कृषि उत्पादनहरु फर्सि, साग, लसुन, खसी तथा कुखुराको भाले बिक्री गरेवापतको कर ठेकेदारले असुली गरे ।
हाटबजार कर लगाउने वा नलगाउने भन्ने विषयमा नगरकार्यपालिका बैठकमा नत बहुमत सदस्यले कुरा उठाएका थिए, नत नगरप्रमुख पोखरेललेनैं । कमलामाई नगरपालिकाबाट बाहिरी जिल्लामा जाने उत्पादित बस्तुहरुको कर नलगाउने नगरप्रमुखको अडान र जसरी पनि निकासी कर लगाउनै पर्छ भन्ने कार्यपालिका सदस्यहरुको अडानले नगरपालिकाको काम कारबाहीहरु प्रभावित बनेको छ ।
निकासी कर आफ्नो करेसावारीमा तरकारी फलाएर हाटवजारमा बेच्न लैजाने किसानहरुका लागि होइन, यो त जिल्लाबाट राजधानी लगायत बाहिरी जिल्लामा बिक्रीका लागि लैजाने क्रममा जहाँ उत्पादन हुन्छ, त्यहीको स्थानीय सरकारलाई तिर्ने कर हो । कमलामाई नगरपालिकाकी उपप्रमुख मञ्जु देवकोटाले भन्नुभयो । उहाँले अगाडि भन्नुभयोः शनिवारे हाट बजारमा किसानले डोकोमा बेच्न ल्याएका सागको मुठामा कर लगाउने तर ठूला व्यवसायीले जिल्ला बाहिर बेच्न लगेका लाखौंका कुखुरा लगायतका सामाग्रीमा कर छुट दिने कार्य किसानमैत्री निणर्य होइन । हामी चाहान्छौं, नगरपालिका आफैंले प्रमोट गरेका साना किसानहरुले उत्पादन गरेका वस्तुहरुमा कर लगाउने भन्दा ठूला नगरपालका भन्दा वाहिर पठाइएका सामाग्रीमा कर लगाउनु पर्छ । सानालाई कर लगाउने र ठूलालाई छुट दिने नगरप्रमुखको कार्यलाई कदापी स्वीकार्न सकिन्न, उपप्रमुख देवकोटाले भन्नुभयो ।
जहाँ उत्पादन भएको हो, त्यहाँको सरकारले कर छुट दिनु अत्यन्तै सकारात्मक कुरा हो, तर त्यसलाई व्यवहारमा लागु गराउनु पर्छ । कमलामाईले कर नलिएपनि गोलन्जोर गाउँपालिकाले निरन्तर लिइरहेको छ, हामी कतै पनि कर नलिने वातावरण बनाउन नगरप्रमुखसँग माग गर्दछौं, पोल्ट्री व्यवसायी एकलाल श्रेष्ठले भन्नुभयो ।
उहाँले अगाडि भन्नुभयोः स्थानीय सरकारले हाम्रो पिडालाई महशुस गरेको छ, त्यो वास्तवमैं सकारात्मक कुरा हो, तर त्यो व्यवहारमा लागु हुनुपर्छ र कर लाग्दनै भन्ने सुनिश्चितता गरिदिनुपर्छ । एउटा स्थानीय तहमा उत्पादित बस्तुको कर अर्को स्थानीय तहले असुल गर्नु भनेको वास्तमा त्यो कर होइन, लुट हो, त्यसरी लुट मच्चाउने अबसर स्थानीय सरकारले दिनुहुँदैन, हामी नगरप्रमुखबाट सकारात्मक परिणाम चाहान्छौं, उहाँको भनाई थियो ।
कमलामाई नगरपालिका वडा नं ४ ज्यामिरेकी किसान उर्मिला तामाङले गएको शनिवारे हाटमा एक डोको फर्सी बेच्न ल्याइन् । उनले चौतारोमा बसेर ३ वटा मात्रै फर्सी बेचेकी थिइन, तीस रुपैयाँ दिनुस् भनेर उनीसँग एक युवाले पैसा मागे । ती युवा अरु कोही नभएर शनिवारे हाट बजारको कर उठाउन आउने व्यक्ति थिए । शनिवारे हाट बजारको कर उठाउने जिम्मा डल्ली रत्न ग्रुप अफ कम्पनी प्रालीले लिएपछि कमलामाई नगरपालिका हाट बजार रसिद नामको ठेली हातमा बोकेका ती युवालाई उर्मिलाले भनिन्-‘ तरकारी, कुखुरा र खसीमा कर नलाग्ने र नलिने भनेर मेयरसापले भन्नुभएको छ, हामी त कोही पनि तिर्दैनौं ।’ उनको भनाई नसक्किंदै फर्सिको मुन्टा (साग) बेच्न बसेकी डुनडाँडाकी पञ्चमायाँले थपिन् मेयर सापले भिडियोमा पैसा नलिने बताउनु भएको थियो, हामी त तिर्दैनौं, तर उनीहरुको कुरा सुनवाई भएन । पैसा तिर्नु पर्नेनैं भएपछि उनीहरुले २० रुपैयाँ झिकेर दिए, तर ती युवाले ३० रुपैयाँ भन्दा कम हुँदैन, भने । किसान र करअसुली कर्ताको यो सम्वाद नजिकै रहेका हाम्रा संवाददाताले सुनिरहेका थिए । ‘म मेयर चिन्दिनँ, पैसा दिने भए दिनुस् नभए यहाँबाट गइहाल्नुस्’ उनको दबाबपूणर् कुरापछि ती युवाले यस पटक २० रुपैयाँ दिनुस् अर्को पटक ३० रुपैयाँ नैं दिनुपर्छ भन्दै ती करअसुलीकर्ता हिंडे । अघिल्लो वर्षदेखीनैं उनीहरुले एक डोको साग हाट बजारमा ल्याएर बेचेवापत २० रुपैयाँ लिंदै आएको थियो । उर्मिला भन्छिन्ः किसानहरुको उत्पादनमा कर लिन्न र लिनुपनि हुँदैन भन्ने मेयरसापको कुराबाट हामी हर्षित भएका थियौं, तर त्यो व्यहारमा लागु भएन, हामीहरुलाई कर उठाउने व्यक्तिले गरेको व्यवहार शोभनीय थिएन ।
दुईवटा भाले बोकेर आएकी कमलामाई नगरपालिका ११ फिटिङकी कल्पनाले पनि २० रुपैयाँ तिरिन भने भीरगाउँबाट एउटा खसी बेच्न लिएर आएका सन्तोष तामाङले ५० रुपैयाँको रसिदको रकम तिरे । उनीहरु सबैले उर्मिलाको जस्तो कर नलाग्ने कुरा बताएपनि कुनै सुनुवाई भएन । – यो समाचार आजको सन्देश जनप्रिय साप्ताहिकले प्रमुखताका साथ छापेको छ ।

साग, लसुन र भालेमा कर लाउँदिनः नगरप्रमुख
सिन्धुली/कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेले संवाददाता सम्मेलनमा भन्नुभएको छः नेपालका नगरपालिकाहरुलाई राजमार्ग र विभन्न ठाएँमा ढाट राखेर कर नउठाउन पत्राचार भइसकेको र कमलामाई नगरपालिकाको स्थानीय राजपत्र र आर्थिक ऐनमा पनि व्यवस्था नभएको जुन कमलामाई नगरपालिकाको निकासी कर छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले व्यवस्था गरे बिपरित यहाँ बहुमतका नाममा जुन निकासी कर लगाउने भनिएको छ । म त्यसको पक्षमा छैन । जनताले उत्पादन गरेको एकमुठा सागमा, एउटा भालेमा एकमुठो गुन्द्रुकमा, एक मुठो लसुनमा पनि कर लगाइएन भने नगरपालिका चल्दैन, जनताको चाहना जहाँ सुकै जाओस भनेर बहुमतका नाममा साथीहरुले बहिस्कार गरेपछि बैठक स्थगित भएको छ ।
म शासक होइन, जनताको सेवक भएर आएको कुरालाई प्रणगर्दै नगरवासीको सम्वृद्धि र ओठमा हाँसो ल्याउने सपनाका लागि हामीलाई मत दिनुभयो, ती जनलाई करमाथि कर थोपर्ने होइन, सेवा दिने हो । कानूनमैं नभएको र कानूनले नदिएको कर लगाउने कुरा म निर्वाचित भएर आएको जनप्रतिनिधीको हैसियतले कार्यान्वयन हुन दिन्न । जनताको पक्षमा म एक्लो हुँदासम्म लागिरहने प्रण गर्दछु । साथै कर लगाउने विषयमा राजस्व परामर्श समितिले पनि शिफारिश गरेको छैन । (नगरप्रमुख पोखरेलले संवाददाता सम्मेलनमा दिनुभएको मन्तव्यबाट)











