सिन्धुलीमा पहिलो पटक बहिरा विद्यार्थीहरूलाई निःशुल्क होटल म्यानेजमेन्ट सम्बन्धि सात दिने तालिम सुरु भएको छ । बहिरा विद्यार्थीहरूलाई पनि होटल म्यानेजमेन्ट सम्बन्धि ज्ञान र सिप प्रदान गर्ने उद्देश्यले तालिम सुरु भएको हो ।

तालिमको माध्यमबाट बिद्यार्थीहरुलाई होटल व्यवसाय सम्बन्धि जानकारी दिने, व्यावसायिक किचन सम्बन्धि जानकार बनाउने, विभिन्न परिकारहरू बनाउन सिकाउने, बनाएको खानालाई कसरी ग्राहक माझ प्रस्तुत गर्ने, समूहमा बोल्न सक्ने क्षमता अभिवृद्धि, व्यक्तित्व विकास जस्ता विभिन्न व्यवहारिक विषयहरू सिकाइने सिन्धुली कलेज आफ होटल म्यानेजमेन्टका संयोजक ताराप्रसाद चौलागाईले जानकारी दिनुभयो ।

उहाँका अनुसार तालिममा प्यान केक, मम, ग्रिल चिकेन बनाउन सिकाइनेछ । हाउसकिपिङ, सर्भिस लगायत अतिथि सत्कारको बारेमा पनि सिकाइने उहाँले जानकारी दिनुभयो । फरक क्षमता भएका विद्यार्थीहरूले पनि होटल म्यानेजमेन्ट सम्बन्धि ज्ञान हासिल गर्दा अतिथि सत्कार र रोजगार सहितको शिक्षा प्रदानमा टेवा पुग्ने बताउनुभयो ।
देशलाई आर्थिक रूपमा समृद्ध र रोजगारको क्षेत्र होटल भएकाले होटल म्यानेजमेन्ट शिक्षालाई प्रभावकारी बनाउन विभिन्न समयमा निःशुल्क तालिम सञ्चालन गर्दै आएको उहाँले जानकारी दिनुभयो । सिन्धुली कलेज आफ होटल म्यानेजमेन्ट सिन्धुलीको आयोजनामा भएको तालिममा २२ जना बहिरा विद्यार्थीहरूले भाग लिएका छन् ।











