रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ७ मा भेटिएको टुइन्च मोर्टार डिस्पोजल गर्न दाङबाट नेपाली सेनाको टोली बिहान त्यस तर्फ गएको छ।
रोल्पामा डिस्पोजल सामग्री नभएपछि दाङको रिपुमर्दन गणबाट सेनाको टोली मगाइएको रोल्पाका प्रमुख जिल्ला अधिकारी लक्षमण ढकालले बताए ।
‘हिजो बेलुका दहबनाट सेनाको टोली पुगेको थियो । तर, मोर्टार डिस्पोजल गर्न सकिएन । आज दाङबाट सेनाको टोली आउँदै छ । त्यहाँ बाट हिँडेको खबर छ’, प्रजिअ ढकालले भने, ‘म पनि घटनास्थल तर्फ जाँदै छु।’
रिपुमर्दन गणबाट सेनानी निमेष पन्थीको कमान्डमा नफ्रिमा विडी सहितको टोली रोल्पाको लागि निस्किएको छ ।
बेवारिसे बम बिष्फोट हुँदा बाख्रा ग्वाला गएका चार बालबालिकाको मृत्यु भएको छ । अहिले पनि घटना स्थलमा बिस्पोटक पदार्थ रहेकाले डिस्पोजल नगरीकन शव उठाउन सकिएको छैन ।
त्रिवेणि–७ निवासी ११ वर्षीया विमला केसी, उनका ५ वर्षीय भाइ विजय केसी, १४ वर्षीय नोखिराम डाँगी र त्रिवेणी–४ का १३ वर्षीय गौरव नेपालीको मृत्यु भएको छ ।
घटनास्थल २०६२ सालमा तत्कालीन माओवादी र नेपाली सेनाबीच भएको भिडन्त स्थल रहेको खुल्न आएको छ । भिडन्तलाइ ‘दुम्ला भिडन्त’ भनेर चिन्ने गरिन्छ । त्यहाँ भेटिएको टुइन्च मोर्टार बम भएको शंका गरिएको छ ।
तत्कालिन माओवादी र सेनाबीचको भिडन्तमा छोडिएका बिस्फोटक पदार्थ अहिले बिस्फोट भएको अनुमान गरिएको छ ।