आउँदो बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनको मिति नजिकिंदै गर्दा जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले आन्तरिक तयारी पुरा गर्न लागेको छ ।
प्रदेशखबरसँग कुराकानीगर्दै सिन्धुलीका मुख्य निर्वाचन अधिकृत धु्रवप्रसाद सापकोटाले स्थानीय तह निर्वाचनको व्यवस्थापकीय सम्पूर्ण तयारी पुरा भएको बताउनु भएको हो । उहाँले ९ वटै स्थानीय तहमा निर्वाचन गराउनका लागि निर्वाचन अअधिकृत, सहकायक निर्वाचन अधिकृत र कर्मचारीहरु छनोट भइसकेको र उहाँहरुलाई तालिम दिने काम मात्रै बाँकी रहेको बताउनुभयो । सिन्धुली जिल्लाका लागि आवश्यक मतपत्र सबै जिल्लामा आइसकेको र बाक्साहरु पनि तयारी अबस्थामा राखिएको उहाँले जानकारी दिनुभयो ।
सिन्धुलीको गोलन्जोर गाउँपालिकामा निर्चाचन आचारसहिंताको उलंघन भएको एउटा घटना रेकर्ड भएको बताउँदै मुख्य निर्वाचन अधिकृत सापकोटाले भन्नुभयोः केही साना तिना आचारसंहिता उलंघन बाहेक ठूला कुनै पनि घटनाहरु नभएको उल्लेख गर्नुभयो । दुधौली नगरपालिकाको वडा नं. २ मा रातको समयमा दुई दलका कार्यकर्ता बीच झडप भएको घटना सुनिएपनि त्यसलाई राजनैतिक रुपमा समाधान हुने चरणमा रहेको आफुले थाहा पाएको पनि खुलासा गर्नुभयो ।
त्यसैगरी जिल्लाको शान्ति सुरक्षाको जिम्मेवारी सम्हाल्नुभएका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले निर्वाचन केन्द्रमा शान्ति सुरक्षा कायम र्गका लागि सबै तयारी पुरा भइसकेको बताउनुभयो । उहाँले मतदान केन्द्रको सुरक्षा र मतपेटिकालाई सुरक्षित स्थानमा राख्नेसम्मका सबै तयारीका लागि तीनै तहका सुरक्षा अंगलाई परिचालन गर्ने योजना बनिसकेको उल्लेख गर्नुभयो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई मतदान केन्द्र र मतपेटिकाको सुरक्षा गर्नेगरी निर्वाचन सुरक्षा योजना बनाइएको प्रदेशखबरसँगको कुराकानीमा उल्लेख गर्नुभयो ।
सिन्धुलीका ९ वटा स्थानीय तहमा अहिले गठबन्धनरत माओवादी केन्द्र, नेपाली कांग्रेस एकातिर छन् भने एमाले एक्लै चुनाबी मैदानमा होमिएका छन् । सिन्धुलीमा भने केन्द्रीय गठबन्धनमा सामेल जनता समाजवादी पार्टी र नेकपा समाजवादी भने एक्ला एक्लै चुनावी मैदान होमिएका छन् ।
पवन राउत, सिन्धुली











