म कक्षा १० मा अध्यन गर्दागर्दै तात्कालिन नेकपा माओवादी नेतृत्वमा सञ्चालित जनयुद्धमा सहभागी भएको थिएँ । जनवाद, समाजवाद र साम्यवाद स्थापना गर्ने सपना देखेर सो पार्टीको पूर्णकालिन कार्यकर्ता भएर १३ बर्ष आफ्नो उर्जामय समय खर्च पनि गरें । साथै रगत पसिना समेत बगाएँ ।
माओवादीमा रहँदा सिन्धुपाल्चोक चौताराको लडाइँ, ठोकर्पाको बमबहारी, मकवानपुरको झुझुरे, भक्तपुरको दधिकोट, लगायतको लडाइँ र काठमाडौं उपत्यका भित्र विभिन्न कमिटीको जिम्मेवारी हुँदै काभ्रे र दोलखा लगायतको जिल्लाहरूमा काम गरें ।
माओवादी बिचार र सिद्धान्तमा स्खलित भइसक्यो । यो सँग कुनै राजनीतिक मूल्यमान्यता बाँकी रहेन । साम्राज्यवाद र विस्तारवादका विरुद्ध लड्नु पर्छ भनेर सिकायो । जनताका आधारभुत आवश्यकता गाँस, बास र कपासको सवाल उठाइयो । शिक्षा, स्वास्थ्य र रोजगारीमा जनताको पहुँचमा पु¥याएर समाजवादी यात्रा तय गर्ने भनियो । अहिले त माओवादीको समाजवादी यात्रालाई परिवारवादको बाढीले नराम्रोसँग बगाइदियो । माओवादीको अति सत्तालिप्साले मलाई यस पार्टीप्रति धृणा जगायो । जोसँग पनि गठबन्धन गरेको छ । सत्ता र शक्ति बिना बस्नै नसक्ने । स्रोत र साधनको दुरुपयोग गर्ने । जनताका आवश्यकता एकातिर छन
भने पार्टी नेतृत्व अर्कातिर कुदेको छ । सिद्धान्त एकातिर छ राजनीति अर्कातिर दौडाएको छ । जनताले एकथोक चाहेका छन् नेताले अर्कोथोक गरेका छन् । त्यसकारण यस्तो सत्ता र सुविधाभोगी पार्टीबाट गरेको राजनीति फलदायी हुँदैन भन्ने मेरो ठहर भयो । त्यसकारण मैले मोओवादी छोडेकोे हुँ ।
पछिल्लो समय एमसीसी परियोजना बारे प्रचण्डले देखाएको द्वैध चरित्रले आज माओवादीमा रहेकाहरूलाई मात्र होइन हिजो माओवादी भई आज अन्यत्र लागेका व्यक्तिहरूलाई पनि धिक्कार ठान्ने अवस्था बन्यो । माओवादी आन्दोलन मुलतः इण्डियामा फेल भएको इन्सास राईफल ब्यवस्थापन र इण्डो पश्चिमा रणनीतिलाई कार्यान्वयन गर्न नेपाली मौलिकता, इतिहास, सभ्यता, संस्कृति र राष्ट्रियता धुलिसाफ गर्न र नेपाल विघटन गर्न परिचालित शक्ति थियो भन्ने मेरो आफ्नो ब्यक्तिगत बुझाई रहेको छ । यो बुझाई प्रति पछिल्लो समय उचित तर्क सहितको मतहरु थपिंदै गएको छ ।
साम्राज्यवादी स्वार्थ सिद्ध गर्न, १७ हजार निमुखा जनताका छोराछोरीलाई बलि चढाइयो । हजारौं बेपत्ता बनाईयो । घाइते अपाङ्गहरुलाई सडकमा कचौरा थाप्ने भिखारी बनाईयो । ज्यानको बाजी लगाएर युद्धमा होमिएका योद्धाहरुलाई कि यौनदासी बनाईयो कि बिदेशमा बिक्री गरियो । अझै पनि उहाँहरुलाई माओवादी जिन्दावाद भन्न लाजै लागेको छैन ।
माओवादी पार्टी सर्वहारा श्रमजीवी वर्गको पार्टी त रहेन नैं परन्तु माओवादी भित्र रगत बगाएका योद्धाहरूको पार्टी समेत रहेन । पछिल्लो कालखण्डमा प्रवेश गरेका नव धनाढ्यहरुको पार्टी हुन पुग्यो । यही वर्ग र यिनका हैकममा पार्टी डुव्यो । हेर्दा हेर्दै पार्टी दलाल नव सामन्तहरू उत्पादन गर्ने कारखाना बन्यो । त्यसैले पार्टी नेतृत्व आफ्नो वास्तविक वर्गसँग धेरै टाढा पुग्यो । यो कुरा हामीले पार्टीमा पटक पटक उठायौं तर विचारको राजनीतिलाई नाफाको राजनीतिले, निष्ठाको राजनितिलाई ठेक्काको राजनीतिले र न्यायको राजनीतिलाई अन्यायी दलालहरूको राजनीतिले जितिसकेको गम्भीर परिवेशमा हामी जस्ता बबुरोको कुरा कस्ले सुन्ने ? मनि, माईन्ड र मसलको अगाडी नैतिकताको राजनीति खडेरी परेको रुग्ण परिवेशलाई टुलुटुलु हेरेर बस्नु शिवाय अरु कुनै बिकल्पनै थिएन । जहाँ सत्य कुराको सुनुवाई हुँदैन त्यहाँ बसेर समय किन वर्वाद गर्नु भन्ने महसुसभयो ।
आज माओवादी पार्टीको जनवाद परिवारवादी निरंकुशतामा वदलिन पुग्यो भने समाजवाद र साम्यवाद राष्ट्र र जनताका लागि नभई नेतृत्व र उनका परिवारको सुखभोगमा परिभाषित हुन पुग्यो । यस प्रकारको परिदृश्यमा आत्मसमर्पण गर्नु, विद्रोह गर्नु र पार्टीनैं परित्याग गर्नुभन्दा अन्य विकल्प मसँग रहेन । यी तीन विकल्पमध्ये मैले पार्टी परित्याग गर्ने विकल्प रोजे र ०७२ सालबाट पार्टी परित्याग गरी नेपालको संस्कृति इतिहास, राष्ट्र र राष्ट्रियता बारे खोज र अध्ययनमा लागे ।
म नेकपा एमालेमा किन प्रवेश गरें ?
निश्चयनैं कुनै पदको लाभ नपाएर माओवादी पार्टी छाडेको होइन र पदीय लाभका निम्ति एमालेमा प्रवेश गरेको पनि होइन । खास अर्थमा माओवादीमा जुन सपना देखेर लागियो र ती सपना कहिले विपनामा परिणत हुने छाँटकाँट पटकै देखिएन । माओवादी पार्टी खरिपाटी र पालुङटार बैठक हुँदै हेटौंडा महाधिवेशनसम्म पुग्दा एमाले कै वैचारिक धार समाती सकेको थियो । यही देखेर हेटौडा महाधिवेशनमा मैले खगराज भट्ट नेतृत्वको टिमलाई यो देशमा दुईवटा एमाले टिक्दैन भनेर सुझाव राखेको थिएँ ।
सांस्कृतिक स्वाधिनता, राष्ट्रिय स्वाधीनता र आर्थिक स्वाधिनता हाम्रो राजनीतिको र नेपालको प्रगतिशील आन्दोलनको मुख्य हिस्सा बन्नु पर्दछ । यो कार्य खास गरेर नेकपा एमालेले १० औं महाधिवेशनबाट क.केपी ओलीको नेतृत्व प्राप्त गरिसकेपछि सुदृढ र नयाँ एमालेका रुपमा अगाडि बढेको छ । सत्यमेव जयते कि सिंहमेव जयतेको प्रतिवाद होस वा नेपालको इतिहासमा पृथ्वीनारायण साहले प्रारम्भ गरेको बिशाल नेपाल अभियान र उहाँको पुत्र बहादुर शाहले प्रदान गरेको निरन्तरता र जङ्गबहादुर राणाको राजनीतिक चातुर्यताले फिर्ता गरेको भूमि बाहेक हाम्रो राष्ट्रियता माथी बिदेशी बिजाति र बिधर्मीहरुको निरन्तर प्रहार जारी रह्यो । तर क. केपि ओली मात्रै एउटा यस्तो बहादुर राष्ट्रवादी नेता जन्मनु भयो जसले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई समावेश गरेर नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गर्ने हिम्मत गर्नुभयो । देशभक्ति भाषण होइन, व्यहारमा प्रदर्शन गरेर मात्रै संभव हुन्छ । बिस्तारवादी भारतका बिरुद्ध लडाइँ भन्दै सोझा सिधा जनता र गरिवका छोराहरुलाई उचालेर सुरुङ्ग युद्ध लड्छु भन्दै हावादारी योजना प्रचण्डको भन्दा लाखौं गुना महान राष्ट्रवादी कदम थियो क. केपि ओलिको गुमेको भुमिलाई आफ्नो नक्सामा नक्साङ्कन गर्ने कार्य । त्यही कारणले पनि म एमाले भएँ ।
रवि खड्का
भक्तपुर