नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको उदेश्य देश बनाएरै छाड्ने रहेको प्रष्ट योजना सुनाउनु भएको छ । उहाँले नेपाल गरीब हुनै नसक्ने देश भएको पनि बताउनु भएको छ ।
पार्टीको पहिलो केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको उद्देश्य देश बनाएरै छाड्ने बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘हाम्रो उद्देश्य यो देश बनाएर छाड्ने हो । यो देश गरीब हुन सक्ने देश होइन्। गरीब हुनै नसक्ने देश हो यो । हाम्रा पुर्खाहरुको हिसाबले यो पछाडि पर्नसक्ने देश होइन। यस्तो उर्वर, जिउँदो माटो, जिउँदो हावा भएको देश हो।’
अध्यक्ष ओलीले माटो मृत भयो भने केही नहुने भन्दै बिरामी भएको माटोलाई उपचार गर्नुपर्ने बताउनु भयो । ‘माटो मृत भयो भने त्यसमा केही हुँदैन। हाम्रो माटो जिउँदो माटो हो। माटो बिमारी होला त्यसको उपचार हुन्छ। आम रुपमा माटो स्वस्थ छ, त्यसको उपचार हुन्छ,’ उहाँले भन्नुभयो ।











