अमेरिकी गुप्तचर अधिकारीहरुले कोरोना भाइरस मानव निर्मित वा आनुवांशिक रुपमा परिवर्तन गरी बनाइएको भाइरस नरहेको पुष्टि भएको बताएका छन् ।
भाइरस मानव निर्मित नरहेको थाहा भए पनि यसको उद्गम थलो वा उत्पती कहाँ भएको थियो भन्ने बारे अनुसन्धान जारी रहेको अमेरिकी गुप्तचर अधिकारीले उल्लेख गरेका छन् ।
अमेरिकाको राष्ट्रिय गुप्तचर निकायका प्रमुखले आफूहरुले भाइरसको संक्रमण मानवमा जनावर हुँदै आएको वा प्रयोगशालामा भएको दुर्घटनाका कारण फैलिएको भन्ने बारे अनुसन्धान गरेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस चिनियाँ प्रयोगशालाबाट आएको प्रमाण भेटिएको दाबी गर्दै आएका छन् । चीनले भने अमेरिकाको आरोप खारेज गरेको छ र भाइरसको संक्रमण फैलिन नदिनका लागि अमेरिकाले गरेको काम पर्याप्त नभएको भनी आलोचना गरेको छ ।
भाइरस मानव निर्मित नरहेको थाहा भए पनि यसको संक्रमण जनावर हुँदै मानवसम्म फैलियो वा प्रयोगशालामा भएको कुनै दुर्घटनाका कारण हो भन्ने स्पष्ट नभएको र त्यसबारे अनुसन्धान जारी रहेको अमेरिकाको राष्ट्रिय गुप्तचर निकायले बिहीबार बताएको हो ।
गुप्तचर निकायले भनेको छ, ‘भाइरसको उत्पती मानवीय कारण नभइर प्राकृतिक रहेकोमा सबै वैज्ञानिक सहमत भएका छन् । तर यसको बिस्तार कसरी भयो भन्ने बारे चाहिँ अझै अनुसन्धान जारी छ । संक्रमित जनावरसँगको सम्पर्कमा आएर मानिसमा यो भाइरस आयो वा वुहानको कुनै प्रयोगशालामा भएको दुर्घटनाको परिणाम अहिलेको महामारी हो भन्ने बारे हामीले गम्भीर रुपमा अनुसन्धान गरिरहेका छौँ ।’
कोरोना भाइरसको संक्रमण पहिलो पटक गएको डिसेम्बरमा चीनको वुहान शहरमा देखिएको थियो । त्यसयता विश्वभर ३२ लाख भन्दा बढी मानिस यसबाट संक्रमित भएका छन् । कोभिड १९ का कारण दुई लाख ३१ हजार भन्दा बढीको ज्यान गएको छ ।
सबैभन्दा बढी प्रभावित भएकोा अमेरिकामा १० लाख ६८ हजार भन्दा बढी संक्रमित छन् भने त्यहाँ मृत्यु हुनेको संख्या ६२ हजार ९ सय भन्दा बढी पुगेको छ ।
अमेरिकाले चीनमाथि कोरोना भाइरसलाई जैविक हतियारका रुपमा विकास गरेको अभियोग लगाउँदै आएको छ । तर चीनले यो कुरा सुरुदेखि नै अस्वीकार गर्दै आएको छ ।
अब अमेरिकाको गुप्तचर निकायले पनि भाइरस मानव निर्मित नरहेको भन्ने बताएको छ । अझै पनि भाइरसलाई प्रयोगशालाबाट लिक गरिएको हो वा जनावरबाटै अहिलेको महामारीसम्मको अवस्थामा आएको हो भन्ने स्पष्ट नभएको गुप्तचर निकायले बताएको छ ।
तर राष्ट्रपति ट्रम्पले भने बिहीबारको पत्रकार सम्मेलनमा आफूसँग भाइरस चीनको ल्याबबाटै फैलिएको भन्ने प्रमाण रहेको दाबी गरे । उनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को आलोचना गर्दै उ चीनको प्रवक्ता जस्तो भएको आरोप लगाए ।