एआईजीपी पुष्पराम केसी सशस्त्र प्रहरीको निमित्त प्रमुख

सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालले अवकाश पाउनु भएको छ । आज राति १२ बजेपछि चार वर्षे कार्यकाल पूरा हुुने भएता पनि महानिरीक्षक खनालले सोमबार कार्यालय समयमै जिम्मेवारी बुझाएर विदावारी हुनुभएको हो । आईजीपी खनालले पहिलो नम्बरका आईजीपी पुष्पराम केसीलाई औपचारिक रूपमा बुझबुझारथ गरी संगठन प्रमुखको जिम्मेवारी सुम्पिएर विदावारी हुनुभएको हो ।

खनाल २७ चैत २०७४ मा सशस्त्र प्रहरी बलको महानिरीक्षकमा नियुक्त हुनुभएको थियो । उहाँले अवकाश पाए पनि सरकारले नयाँ महानिरीक्षकको टुंगो लगाउन सकेको छैन । सशस्त्र प्रहरीमा अब आउने नयाँ नेतृत्व २१ दिनका लागि मात्रै चयन हुनेछ । हाल एआईजी रहेका दुईजनामध्येबाट सरकारले एकजनालाई सशस्त्र प्रहरी महानिरीक्षक नियुक्त गर्नेछ । २१ दिनका लागि नयाँ महानिरीक्षकमा एआईजी पुष्पराम केसी र रामशरण पौडलको दाबी छ ।

दुवैजना खनालकै ब्याचमेट हुनुहुन्छ । ३० वर्षे सेवा अवधिका कारण २०७९ साल १९ वैशाखमा उहाँहरूले अनिवार्य अवकाश पाउँदैछन् । त्यसपछि सरकारले पुनः नयाँ नेतृत्व चयन गर्नुपर्ने छ ।