आगामी बैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले मरिण गाउँपालिका अध्यक्षको उम्मेदवार सर्वसम्मत छनौट गरेको छ। नेकपा एमाले मरिण गाउँकमिटीको आइतबार बसेको चौथो पूर्ण बैठकले गाउँपालिका अध्यक्ष र वडा अध्यक्षहरुको उम्मेदवार सर्वसम्मत छनौट गरेको हो।
नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख संजय दाहालका अनुसार एमालेले मरिण गाउँपालिकाको अध्यक्ष पदका लागि गोविन्दलाल माझीलाई सर्वसम्मत उम्मेदवार छनौट गरेको हो। ‘बैठकले पालिका अध्यक्ष र पाँचवटा वडा अध्यक्षको उम्मेदवार सर्वसम्मत छनौट गरेको छ। गाउँपालिका उपाध्यक्ष र दुईवटा वडा अध्यक्षहरु पनि सर्वसम्म छनौट हुनेछन,’ दाहालले भने।
बैठकले मरिण गाउँपालिका वडा नम्बर २ मा कृष्ण ठाडा, वडा नम्बर ४ मा जीतबहादुर काल्ताङ, वडा नम्बर ५ मा अभिमान बम्जन, वडा नम्बर ६ मा शम्भु कार्की र वडा नम्बर ७ मा शिवजी माझीलाई सर्वसम्मत वडा अध्यक्षको उमेदवार चयन गरेको छ।
माझी नेकपा एमाले बाग्मती प्रदेश कमिटी सचिवालय सदस्य तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान परिषद्को पूर्व सदस्य सचीवसमेत हुन्। नेकपा एमालेका केन्द्रीय सदस्यद्धय गणेश कुमार पहाडी र कमलजंग राईको उपस्थितिमा बसेको बैठकले निर्वाचनका उम्मेदवारहरु सर्वसम्मत छनौट गरेको हो।
यस पटक मरिण गाउँपालिकामा नेकपा एमालले पहिलो पटक बिजयी हुने एमालेका नेता गणेश बुढाथोकीले उद्घोष गर्नुभयो । उहाँले भन्नुभयोः संगठनात्मक संरचना सुदृढ भएसँगै मरिणमा पहिलो पटक नेकपा एमालेले विजय प्राप्त गर्नेछ ।











