जिल्लाका नौ वटा स्थानीय तहमा फरक फरक समयमा गरि ९७ हजार ९६ जना बालबालिकालाई टाइफाइड खोप लगाइने भएको छ ।
स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख राजनप्रसाद पोख्रेलले जिल्लाका १५ महिना देखि १५ वर्ष मुनिका बालबालिकालाई टाइफाइड खोप लगाइने लक्ष्य रहेको जानकारी दिनुभयो ।
बिहीबार सिन्धुलीमाढीमा पत्रकारहरुसंग अन्तरक्रिया गर्दै उहाँले चैत्र २५ देखि बैशाख १८ गतेसम्म देशैभर खोप लगाउने अभियार सुरु हुनेमा सिन्धुलीमा चैत २७ गते बाट अभियान प्रारम्भ हुने उहाँले जानकारी दिनुभयो ।
चैत २७ देखि वैशाख ३ गते सम्म मरीण गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका, तीनपाटन गाउँपालिका र घ्याङलेख गाउँपालिकामा खोप अभियान सञ्चालन हुने जनस्वास्थ्य अधिकृत ललित भट्टले जानकारी दिनुभयो ।
बैशाख ५ गते देखी १० गते सम्म सुनकोसी गाउँपालिका, फिक्कल गाउँपालिका र गोलन्जोर गाउँपालिकामा, बैशाख ६ गते देखि बैशाख ११ गते सम्म कमलामाई नगरपालिकामा र बैशाख १२ गते देखि १७ गते सम्म दुधौली नगरपालिकामा खोप अभियान सञ्चालन हुने उहाँले जानकारी दिनुभयो ।
लक्षित सङ्ख्या मुख्य रुपमा करिब ८० प्रतिशत विद्यालयमा रहने हुँदा विद्यालय लाई प्राथमिकतामा राखिएको, विद्यालय नभएका वा कम भएका वडाहरूमा आवश्यकता अनुसार र खोप सेवा सञ्चालन गर्ने सबै स्वास्थ्य संस्थामा अभियानको अन्तिम दिन खोप केन्द्र स्थापना गरिने समेत उहाँले जानकारी दिनुभयो ।