एमाओवादीले राष्ट्रघात गरेको निश्कर्ष निकाल्दै सिन्धुलीमा पार्टी परित्याग गर्नेहरुको चल्यो लहर
एकिकृत नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहायता परियोजना एमसिसी पारित गरेपछि राष्ट्रघात गरेको निश्कर्ष निकाल्दै पार्टी परित्याग गर्नेहरुको लहरले सिन्धुलीमा तिब्रता पाउन थालेको छ ।


नेकपा माओवादी केन्द्र दुधौलीका अखिल नेपाल किसान संघका केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज एवम् प्रभावशाली नेता राजन कार्कीले आज एक कार्यक्रमका बीच माओवादी परित्याग गरेको घोषणा गरेसँगै एक सय भन्दा बढी कार्यकर्ताहरु बिनासर्त एमालेका प्रवेश गरेका हुन् । नव प्रवेशीहरुलाई एमाले सचिव टोपवहादुर रायमाझीले अविर तथा खादा लगाएर स्वागत गर्नुभएको थियो ।

माओवादीका जिल्ला इन्चार्ज राजन दाहाललाई दुधौलीबाट प्रदेशसभा सदस्यमा निर्वाचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने कार्कीको एमाले प्रवेशले माओवादी दुधौलीमा ठूलो धक्का लागेको देखिएको छ । त्यसैगरी दनुवार मुक्ति मोर्चाका केन्द्रीय सल्लाहकार उपप्रधानप्रञ्च एवम् महन्थसमेत एमाओवादी केन्द्र परित्यागगरि एमालेमा प्रवेश गर्नुभएको छ । उहाँलाई पूर्व उपप्रधानमन्त्रीसमेत रहेका रायमाझीले एमालेमा स्वागत गर्नुभएको हो । कार्यक्रममा एमालेका जिल्ला इन्चार्ज गणेश पहाडी, केन्द्रीय सदस्य एवम् वन तथा वातावरण विभाग प्रमुख विषमलाल अधिकारी दनुवार, केन्द्रीय सदस्य उमा कोइराला, निरु दर्लामी, प्रदेश कमिटी सदस्यहरु प्रदीप कटुवाल, खड्गवहादुर खत्री, डम्बर कार्की, धनश्याम राउत, जिल्ला अध्यक्ष रामकुमार कार्की, उपाध्यक्ष कण घिसिङलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
त्यसैगरी जनमुक्ति सेना नेपालका कमाण्डर श्रवण मोक्तानले पनि जनयुद्धका नाममा नेपाली श्रमजिवी जनतालाई अध्यक्ष प्रचण्डले धोखा दिएको बताउँदै हरिहरपुरगढी गाउँपालिकामा आयोजित एक कार्यक्रममा बीच बिना सर्त एमालेमा प्रवेश गर्नुभएको छ ।

एमाले हरिहरपुरगढी पालिका कमिटीद्धारा आयोजित प्रशिक्षण कार्यक्रममा एमाओवादी ५ नं. वडाकमिटी सचिवसमेत रहेका मोक्तानसहित दर्जनौं माओवादी कार्यकर्ताले पार्टी परित्याग गरेको एमाले युवा नेता दिपक माझीले जानकारी दिनुभयो । कार्यक्रमलाई सम्वोधनगर्दै जनसेनाका कमाण्डरसमेत रहेका मोक्तानले एमाओवादी राष्ट्रघातमा पतन भएकाले जनयुद्धको उर्वर भूमिका आम नेता कार्यकर्तालाई बिद्रोह गर्न अपीलसमेत गर्नुभएको छ ।

यस अगाडि मरिणको वडा नं. २ मा १ सय भन्दा बढी माओवादी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए ।
आउँदो बैशाख ३० गते स्थानीय निर्वाचन नजिकिंदै गर्दा सिन्धुली एमालेमा माओवादी नेता कार्यकर्ताहरु प्रवेश गर्ने लहरले अहिले एमाले बलियो बन्दै गएको छ ।


हरिहरपुरगढीबाट बासु मैनाली