गठबन्धनबीचको तालमेल कांग्रेसको व्यवहारमा भर पर्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा गठबन्धनबीच तालमेल हुने/नहुने विषय कांग्रेसको व्यवहारमा निर्भर रहने बताएका छन्।

प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले आफ्नै तागत र एजेण्डामा चुनाव लड्ने पार्टीको पहिलो प्राथमिकता रहेको रहेको बताएका हुन्। साथै तालमेल गर्ने र सकारात्मक परिणाम निकाल्ने विषयलाई पनि सहायक रुपमा ध्यान दिइने बताए। 

‘मुख्य कुरा आफ्नौ संगठनलाई बलियो बनाउने, आफ्नै एजेण्डालाई, आफ्नै तागतमा निर्वाचन लाग्ने उद्धेश्य हो,’ उनले भने, ‘ गठबन्धन होला अनि जितौंला भन्ने कुरालाई ध्यान दिने होइन।’

उनले गठबन्धनका दलहरुबीच तालमेल गर्ने सम्बन्धमा केही नेताहरुले नकारात्मक अभिव्यक्ति दिएपनि नेतृत्वपंक्तिमा विमति नभएको बताएका छन्। ‘यो गठबन्धनलाई निर्वाचनसम्म र निर्वाचनपछिसम्म पनि किनकी गठबन्धन बनाउँदा संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्रको रक्षा र राष्ट्रियताको रक्षा गर्ने भन्ने उद्धेश्यका साथ गठबन्धन बनाइएको हो।’ 

उनले एमालेसंग तत्काल गठबन्धन अथवा तालमेल गर्ने असम्भवप्राय रहेको पनि बताएका छन्। तर कांग्रेसले लखेटेको लखेट्यै गर्यो भने परिस्थिती अर्कै बन्न सक्ने पनि रहेको बताए। 

‘राजनीतिमा असम्भव भन्ने केही हुँदैन, सम्भावनाको खेल पनि हो। असाध्यै अतिवादी ढंग्गले बोल्ने केही नेता देखिनुभाछ, हुनत प्रधानमन्त्रीले उनीहरुलाई अब बोल्न बन्द गर पनि भनिसक्नुभएको छ। कांग्रेसले लखेट्न नै थाल्यो भने त परिस्थिती के हुन्छ।’