चकमके सडक खण्ड आज बिहानै देखी अवरुद्ध भएको छ । तीनपाटन गाउँपालिका ५ घर भएका राजु श्रेष्ठलाई कुटपिट गरेपछि आफन्त र स्थानीले सडक अवरुद्ध पारेका हुन् ।
आइतबार दिउसो उनले चलाएको प २ ०३००१ त २०८२ नम्बरको ट्याक्टरले धुलो उडाएको भन्दै, मिलन थापा सहित ४ जनाको समूहले विना कारण कुटपिट गरेको र घटनामा संलग्न सबैलाई पक्राउ गरि कारबाही र पीडितको उपचारको माग गर्दै स्थानीयले सडक अवरुद्ध पारेका हुन् । मिलन थापातीनपाटन गाउँपालिका अध्यक्ष कर्ण थापाका छोरा हुन् ।
आइतबार दिउँसो आकाशे बाट चकमके तर्फ जाँदै गरेको अवस्थामा कच्ची सडकमा धुलो उडाएको भन्दै ट्याक्टर चालकलाई चार जनाको समुहको कुटपिट बाट घाइते भएका राजुको सिन्धुली अस्पतालमा उपचार हुन नसेपछि थप उपचारका लागि धुलिखेल अपतालमा रिफर गरिएको छ ।

टाउकोमा गम्भीर चोट लागेका कारण सिन्धुलीमा उपचार हुन नसकेपछि थप उपचारका लागि अहिले धुलिखेल लगिएको भरत न्यौपानेले जानकारी दिनुभयो ।
पीडितहरूले सडक अवरुद्ध पारेपछि सडक खुलाउने प्रयास भई रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक विमलराज कडेलले जानकारी दिनुभयो ।
यस अघि न्याय पाउनका लागि गाउँपालिका अध्यक्ष कर्ण थापाको संलग्नतामा सिन्धुलीमा सडक बन्द गरिएको थियो । गाउँपालिका अध्यक्ष थापालाई २०७५ चैत २८ गते कार्यकक्षमा नै सिद्धिबहादुर कटुवालले कुटपिटको प्रयास गरेको भन्दै कटुवाललाई कारबाहीको माग गर्दै सिन्धुलीमा सडक अवरुद्ध पारेका थिए । गाउँपालिका अध्यक्षले नै सिकाएको सिको गर्दै स्थानीयले सडक अवरुद्ध पारेका छन् ।