प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशभित्र र बाहिरका प्रतिक्रियावादी शक्तिहरु मिलेर आफू नेतृत्वको सरकारलाई हटाएको बताएका छन्।
अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकार ढलाउन संसारभरका स्यालहरु एक भएको भन्दै उनीहरुविरुद्ध प्रतिवाद गरेर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।
पार्टी निकट मानव अधिकारवादीहरुको संगठन मानव अधिकार एलाइन्सको पाँचौ राष्ट्रिय महाधिवेशनलाई सोमबार पोखरामा उद्घाटन गर्दै उनले एमाले नेतृत्वको सरकारले राम्रो काम गर्दागर्दै प्रतिक्रियावादीहरु मिलेर ढालिदिएको बताएका हुन्।
ओलीले एक हुल स्यालको प्रसंग निकाल्दै भने, ‘स्यालको यस्तो धर्म हुन्छ, एउटा स्याल कराएपछि त्यो सुनेपछि सबैले ठाडो घाँटी लगाएर ‘हु हु’ गर्नुपर्छ नत्र टाउको फुटेर मर्छ। त्यस कारण दुनियाँभरिका स्यालहरु हाम्राविरुद्ध ठाडो घाँटी लगाएर हुहु गरे। त्यसको वैचारिक र व्यवहारिक ढंगले जवाफ दिनुपर्छ।’
अध्यक्ष ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाललाई ‘हाडीघोप्टे’को संज्ञा दिए। मानव अधिकारको रक्षामा आफ्नो पार्टी विश्वभरीकै अवधारणाभन्दा अगाडि रहेको उनको दावी थियो।
उनले भने, ‘कुनै संस्थाबाट मान्छे फुट्यो भने नाम एकीकृत राख्छ। जो चाहिँ हाँडिघोप्टे छ, उसले समाजवादी नाम राख्छ। आजको समय त्यस्तो छ। तर, हामी फेसनको पछि होइन, तर्कको पछि लाग्छौँ। वास्तविक रुपान्तरणका लागि लाग्छ। विश्वभरीका मानवअधिकार अवधारणाभन्दा एमाले एक कदम अगाडि छ।’
अध्यक्ष ओलीले अरुले एमालेको उचाइ प्राप्त गर्न पनि नसक्ने तर इर्श्या गर्ने गरिरहने चलन नै भएको बताए।











