जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले स्थानीय तह निर्वाचन २०६९ का लागि मतदाता नामावली अद्यावधि सम्बन्धी शुक्रबार सरोकारवाला निकायसङ अन्तरक्रिया गरेको छ ।
स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन आयोगले तय गरेका कार्यक्रमहरूबारे सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको हो ।
निर्वाचन अधिकारी पुष्पाकुमारी झाले फागुन १९ गते सम्बन्धित वडा कार्यालय र प्रमुख नाम दर्ता अधिकारीको कार्यालयबाट मतदाता नामावली प्रकाशन गरिने जानकारी दिनुभयो । मतदाता नामावली प्रकाशन पछि नामावलीमा रहेको त्रुटि सच्याउन सम्बन्धित प्रमुख नाम दर्ता अधिकारीको कार्यालयमा सम्बन्धित मतदाता वा निजको परिवारको सदस्यले फागुन २० गते देखी २२ गते सम्म निवेदन दिन सक्ने जानकारी गराउनुभयो।
मतदाता नामावलीमा कुनै झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भएमा र मतदाता नामावलीमा कुनै पनि व्यक्तिको नाम एक भन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न फागुन २० गते देखी २२ गते सम्म कुनै पनि व्यक्तिले उजुरी दिन सकिने जानकारी दिनुभयो । फागुन २० गते देखी २३ गते सम्म बसाई सरि अन्यत्र गएका, मृत्यु भएका वा नागरिकता त्यागेका व्यक्तिको नामावली हटाउन सूचना दिने र फागुन २० गते देखी २४ गते सम्म उजुरी प्रमाणित भएमा हटाउने सम्बन्धमा आवश्यक छानविनगरि प्रमुख नाम दर्ता अधिकारीले हटाउने निर्णय गर्ने कार्यक्रम रहेको छ ।
फागुन २३ गते देखी २४ गते निवेदन प्राप्त नभएपनि कुनै मतदाता बसाइसराइ सरि गएको, मृत्यु भएको, नागरिकता त्याग वा रद्द भएको ब्यहोरा प्रमाणित हुन आएमा यस्ता मतदाताको नाम नामावलीबाट हटाउने । फागुन २४ गते देखी २५ गते सम्म झुटा विवरण दिई नामावली नाम दर्ता गर्ने सोको सफाइको आधारमा नाम राख्ने वा हटाउने सम्बन्धमा प्रमुख नाम दर्ता अधिकारीले निर्णय गर्ने, फागुन २५ गते त्रुटि सच्याउन परेको निवेदन बमोजिम जाँचबुझ गरि त्रुटि सच्याउने, त्रुटि सच्याएको, एक भन्दा बढी स्थानमा नाम भएको हटाइएको, मृत्यु भएका, नागरिकता त्यागेका, बसाई सरि अन्यत्र गएका भनी प्राप्त भएको निवेदनका आधारमा हटाइएको सूचना निर्वाचन कार्यालयमा प्रकाशन गरिने उहाँले जानकारी दिनुभयो ।
फागुन २६ गते फरक–फरक जिल्लामा दोहोरो नाम परेको सम्बन्धमा निवेदन प्राप्त भए सोको छुट्टै विवरण तयार गरि जिल्लामा अद्यावधिक भएको डाटासँगै आयोगमा पठाइने उहाँले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सभा सदस्य विनोद खड्का, समन्वय सभापति शंकरराज बर्मा तिवारी, नेकपा एमाले सिन्धुलीका अध्यक्ष कुमार बहादुर कार्की, जिल्ला सचिव नारायण बराल, नेपाली काँग्रेसका माणिक ढकाल, अखण्ड नेपालका अध्यक्ष तिलक बहादुर थापा, जसपा अध्यक्ष सुरद बहादुर स्याङतान, मंगोल नेश्नल अर्गनाइजेसन अध्यक्ष शान्तिवीर लामा, सुरक्षा निकायका प्रमुख, नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
उजुरी वा निवेदन कार्यालयमा स्वयम उपस्थित भएर वा कार्यालयको इमेल deo_sindhuli@yahoo.com मार्फत पठाउन सकिने निर्वाचन अधिकारी झाले जानकारी दिनुभयो । मतदाता परिचयपत्र हराएको भएमा वडाको सिफारिस सहित कार्यालयमा निवेदन दिन सकिने उहाँले जानकारी दिनुभयो । यस सम्बन्धित कुनै जानकारी लिनु परेमा ०४७–५२०३२२ मा फोन गरि जानकारी लिन सकिने उहाँले जानकारी दिनुभयो ।