नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्न बालुवाटार पुग्नुभएको छ । प्रधानमन्त्री देउवाको आग्रहमा प्रमुख विपक्षी दलका नेतासमेत रहनुभएका एमाले अध्यक्ष ओलीबीच आज पुनः बालुवाटार पुग्नुभएको हो ।
प्रधानमन्त्रीसँग छलफल गर्न अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल बालुवाटार जानु भएको हो । अध्यक्ष ओली प्रधानमन्त्रीसँग छलफलका लागि बालुवाटार पुगिसक्नु भएको उहाँका प्रेस संयोजक रामशरण बजगाईले जानकारी दिनुभयो । भेटमा समसामयिक तथा राजनीतिक विषयमा छलफल हुने एक स्रोतले बताएको छ ।

एमसीसीलाई लिएर सत्ता गठबन्धनमा विभाजन आइरहेका बेला प्रधानमन्त्री देउवाले लगातार एमाले अध्यक्ष ओलीसँग संवाद बढाउनु भएको छ । यसअघि प्रधानमन्त्री देउवा पत्नी डा आरजु राणा देउवाका साथ अध्यक्ष ओलीलाई भेट्न उहाँको निजी निवास बालकोट पुग्नु भएको थियो ।
आज अध्यक्ष ओली र प्रधानमन्त्री देउवाबीचको वार्तालाई विशेष महत्वका रुपमा हेरिएको छ । आजको बार्तामा मुलुकको समग्र परिस्थितिसहित निर्वाचन सुनिश्चित गर्ने बिषयमा समेत ठोश दिशा दिने बताइएको छ ।