निर्वाचनका बेला पत्रकारहरुको भूमिका महत्वपूर्णः एमाले केन्द्रीय सदस्य पहाडी

नेकपा एमालेका केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला इन्चार्ज गणेश पहाडीले स्थानीय निर्वाचन नजिकिइरहेका बेला प्रेस चौतारी सम्बद्ध पत्रकारहरुको भूमिका निकै महत्वपूर्ण रहेको बताउनु भएको छ । प्रेस चौतारी नेपाल सिन्धुली शाखाको सातौं जिल्ला अधिवेशनको प्रमुख अतिथीका रुपमा उद्घाटनगर्दै प्रमुख अतिथी पहाडीले प्रेस चौतारी एमालेको शुभेच्छुक जनसंगठन भएको र यसको प्रकृति अन्य भातृ संगठन जस्तो नरहेको उल्लेख गर्नुभयो । उहाँले अगाडि भन्नुभयोः निर्वाचनको युद्धमा आधा युद्ध त पत्रकारले लड्ने भएकाले स्थानीय पालिकाहरुले गरेका सकारात्मक कामहरुको सन्देश आम जनता समक्ष लैजान प्रेस चौतारीमा आबद्ध पत्रकारहरुले सक्रियता देखाउनै पर्छ ।
संघीय सांसदसमेत रहेका नेता पहाडीले पार्टीका हरेक रणनीतिलाई सफल बनाउन पत्रकारहरुले महत्वपूर्ण भूमिका खेल्न आवश्यक रहेको बताउँदै उहाँले पत्रकार र बलियो सम्बन्ध आवश्यक रहेको उल्लेख गर्नुभयो ।
नेकपा एमाले सिन्धुलीका अध्यक्ष रामकुमार कार्कीले एमालेको प्रचार संगठन प्रेस चौतारीमा आवद्ध पत्रकारहरुले भोग्दै आएका समस्याहरु आफुले राम्ररी महशुस गरेको बताउँदै पार्टी र संगठनका बीचमा बलियो सम्बन्ध आवश्यक रहेको बताउनुभयो । उहाँले अगाडि भन्नुभयोः हाम्रा स्थानीय निकायले निकै राम्रा र लोकप्रिय कामहरु गरेका छन् ती कामको सकारात्मक प्रचार प्रसार आवश्यक छ ।
पार्टीको भिन्न र फरक संगठन एवम् प्रचार मोर्चाका रुपमा रहेको प्रेस चौतारीमा आवद्ध साथीहरुलाई पार्टीले उचित कामको जिम्मेवारी दिएर अगाडि बढ्ने बताउँदै उहाँले सक्षम र सबैले मान्ने साझा नेतृत्व छनोट गर्न पनि सुझाव दिनुभयो । हामी पत्रकारहरु आफैंले आफ्नो नेतृत्व छनोट गरेको देख्न चाहान्छौं भन्दै अध्यक्ष कार्कीले भन्नुभयोः तपाईहरु आफैंले छनोट गरेको नेतृत्व हाम्रा लागि स्वीकार्य छ, त्यसैले पार्टी नेतृत्वबाट कुनै पनि किसिमको हस्तक्षेप वा दवाव हुने छैन ।
कार्यक्रममा शुभकामना मन्तव्य दिंदै एमाले कमलामाई नगरकमिटी अध्यक्ष महेन्द्रदेव श्रेष्ठले सर्वसम्मत र सर्व सवीकार्य नेतृत्व छनोट गर्न सुझाव दिनुभयो । नेकपा एमाले जिल्ला उपाध्यक्ष कर्ण घिसिङ, सचिव नारायण बराल, नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कृष्णहरी घिमिरे, प्रेस चौतारी नेपाल केन्द्रीय अनुशासन आयोगका अध्यक्ष द्धावारिका काफ्ले केन्द्रीय सदस्यहरु प्रेम दाहाल र शंकर सौगात, प्रदेश कमिटी सदस्यहरु लोकहरी आचार्य, लक्ष्मण घिमिरे, रमा कार्कीको उपस्थिति रहेको थियो । जिल्ला अध्यक्ष बुद्धकुमार आछामीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । -पवन राउत, सन्देश जनप्रिय साप्ताहिक