बिधिसम्मत ढंगले पार्टीलाई सामूहिक रुपमा सञ्चालन गर्नका लागि मैंले जिल्ला सभापति पदमा उम्मेदवारी घोषणा गरें: खड्गवहादुर वाइवा

नेपाली कांग्रेस सिन्धुलीका नेता खड्गवहादुर वाइवाले जिल्ला अधिवेशनमा आफ्नो तर्फबाट सभापतिमा पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । सन्देश जनप्रिय साप्ताहिकसँग लामो कुराकानीगर्दै पार्टीको सिन्धुली कांग्रेसको उपसभापति समेत रहेका वाइवाले आफ्नो उम्मेदवारी कुनै पनि सहयोद्धा साथीहरुका विरुद्ध नभई दुई कार्यकाल उपसभापतिको जिम्मेवारी सफलतापूर्वक सञ्चालन गरेकै आधारमा घोषणा गरिएको बताउनु भएको हो ।
‘मलाई नेपाली कांग्रेसको सभापति पदमा विजयी गराउनुभयो भने पार्टीलाई कहिल्यै बद्नाम र आलोचना हुने अबस्थानैं आउन दिन्न, किनकी तमाम पार्टी नेता र कार्यकर्ताहरुलाई योग्यता र क्षमताका आधारमा उचित जिम्मेवारी दिएर पार्टी काममा खटाउन म सक्षम छु, किनकी मेरो २ वर्षे जिल्ला उपसभापतिको कार्यकालले मलाई पार्टी बिधीसम्मत र सामूहिक रुपमा सञ्चालन गर्नुपर्छ भन्ने कुराको लामो अनुभव पनि छ ।’ नेता वाइवाले भन्नुभएको छ । नेपाली कांग्रेसमा लागेकै भरमा कुनै पनि कार्यकर्ताले दुःख र सास्ती खेप्नु पर्दैन र उनीहरुको समस्यामा पार्टी छ, भन्ने तथ्य स्थापित गराउनका लागि पनि आफ्नो सभापति पदमा उम्मेदवारी रहेको उहाँको खुलासा थियो ।
नेपाली कांग्रेस सिन्धुलीमा लामो कालखण्ड बिताएका र निष्ठावान एवम् इमान्दार नेताका रुपमा चिनिएका वाइवाले पार्टीका कामलाई कुसशलतापूर्वक पुरा गरेकै कारण पार्टी केन्द्रलेसमेत सम्मान गरेको थियो ।
२०३६ सालको जनमत संग्रहका बेला बहुदलको पक्षमा मतदान गरेकै आधारमा पञ्चायती व्यवस्थाका संरक्षकहरुबाट दुख र हैरानी व्यहोरेको स्मरण गर्दै उहाँले विपिन कोइराला, धुर्व ढकाल र अर्जुन बरालजस्ता नेताहरुकै कारण आफु नेपाली कांग्रेसको राजनीतिमा लागेको उल्लेख गर्नुभयो ।
२०४६ सालको निरंकुश पञ्चायती व्यवस्थाका विरुद्ध भएको संयुक्त जनआन्दोलनका क्रममा राजधानी काठमाडौमा भएको आन्दोलनमा सरिक भएका उनी प्रहरीको कुटपीट र लाठी प्रहारबाट दाहिने गोडासमेत भाँचिएर २८ दिनसम्म बीर अस्पतालमा उपचार गराएर बसेको स्मरण गर्दै नेता वाइवाले भन्नु भएको थियोः त्यस बेला बीर अस्पतालमा घाइते भएर बसेका बेला स्वर्गीय नेता गणेशमानकी पत्नी मंगलादेवी छोरीलाई साथमा लिएर भेटन आउनु भएको थियो । उहाँहरुले त्यस बेला मेरो मनोबल उच्च राख्ने काम गरिदिनुभयो ।
तत्कालिन पार्टी सभापति कृष्णप्रसाद भट्टराईले ४ वटा क्रियाशिल सदस्यताको ठेली आफ्नो हातमा थमाउँदै ‘ वाइवाजी सिन्धुलीमा नेपाली कांग्रेसको क्रियाशिल सदस्य बनाउने जिम्मेवारी तपाईको हो, अब नेपालमा २ वटा मात्रै पार्टी रहन्छन्, त्यो भनेको नेपाली कांग्रेस र कम्युनिष्ट हुन् अरु, कुनै पनि दल रहँदैन, त्यसैले कांग्रेस सिन्धुलीको नेतृत्व तपाईले गर्न सक्नुहुन्छ’ भनेर भन्नुभएको कुरा म बेला बेलामा संझिरहन्छु, उहाँले भन्नुभयो ।
‘मलाई बिहान बेलुका खान र पार्टीको काम गर्नका लागि कोहीसँग हात फिंजाउनु पर्दैन, मेरो आफ्नै गाउँमा सानो व्यवसायछ, अरुले जस्तो म मतदाता किन्न पनि सक्दिनँ र खर्च गर्न पनि सक्दिनँ’ उहाँले अगाडि भन्नुभयो । मलाई सभापति पदमा विजयी गराउनु होस् म तपाईको मतलाई खेर जान दिन्न र नेपाली कांग्रेस पार्टीको आलोचना गर्ने अबस्था आउनँ दिन्न, सभापति पदका उम्मेदवार वाइले भन्नुभयो । स्मरणीयछः कांग्रेस सिन्धुलीको जनजाति मतदाताको संख्या उल्लेख्य छ ।

No description available.