कमलामाई नगरपालिकाले नगरपालिकामा अण्डा तथा चल्लाकाहरुको माग अत्याधिक बढेपछि स्थानीय विपद व्यवस्थापन निर्देशक तथा समन्वय समितिको बैठकले आयातमा लगाएको प्रतिवन्ध आजैका मितिदेखी लागुहुनेगरी हटाएको छ । नेपालमै उत्पादन भएका अण्डा तथा चल्ला पशु चिकित्सकको रिपोर्टका आधारमा जिल्लामा आयातका लागि खुला गरिएको प्रवक्ता कर्ण घिसिंगले बताए । उनका अनुसार नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीको अध्यक्षतामा बसेको बैठकले बजारमा अण्डाको चरम अभाव भएको र अहिले किसानलाई चल्ला उपलव्ध नगराए मासुको अभाव हुनगई कालोबजारीले प्रश्रय पाउने निश्कर्षसहित आजबाटै लागुहुनेगरी मासुजन्य पदार्थ चल्ला र अण्डामा लगाइएको प्रतिबन्ध हटाइएको हो ।
शुक्रवार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्बदलीय एवम् सर्वपक्षीय बैठकले सिन्धुली जिल्लामा अन्य जिल्लाबाट चल्ला तथा अण्डा आयातमा रोक लगाउने विगतको निर्णयलाई निरन्तरता दिदै त्यसलाई कठाइका साथ कार्यान्वयमा लैजाने निर्णय गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा बसेको सर्वदलीय बैठकले स्वस्थकर वा खानयोग्य भनि प्रमाणित नगरेसम्म सिन्धुली जिल्लामा कोरोना संक्रमित जिल्लाबाट हरियो तरकारी आयातलाई रोक्नुपर्छ भन्ने विगतको निर्णयलाई खारेज गरेपछि उक्त निर्णयमा असहमति जनाउँदै मेयर खत्रीले नगरपालिका भित्र कुखुराको चल्ला र अण्डा आयातमा लगाएको प्रतिबन्धलाई हटाउने बताएका थिए ।
जोखिमयुक्त जिल्लाबाट हरियो तरकारी ल्याउन हतारिनु नहुने पक्षमा प्रहरी र सेना रहेपनि प्रशासनको प्रस्तावको अगाडि उनीहरुको कुनै जोर चलेन, समाचार स्रोतले भन्यो । सर्वदलीय बैठकले चल्ला तथा अण्डा आयातमा रोक लगाउने निर्णय गरेको भोलिपल्टै अर्थात कमलामाई नगरपालिकाले नगर क्षेत्रमा चल्ला तथा अण्डा आयात गर्न खुला गरेको २ घण्टापछि आफ्नो निर्णयलाई उल्ट्याएको छ ।
समाचार स्रोतका अनुसार बैठकबाट पछि अनुमोदन गर्नेगरी भन्दै जिल्ला प्रशासन कार्यालयले मंगलवार अण्डा तथा चल्ला आयातमा लगाएको प्रतिबन्ध हटाएको घोषणा गरेको छ । जिल्ला प्रशासन कार्यालयले केही कुखुरा व्यवसायीलाई चल्ला र अण्डा ल्याउन सक्नु हुन्छ भन्दै फोन गरिएको एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा बताए ।
सर्वदलीय बैठकबाट हरियो तरकारी आयात खुला गरिएको गरिएको विषयलाई जिल्ला स्थित सुरक्षा फौजले अपरिपक्क निर्णय भन्दै दुःख व्यक्त गरेको छ । बैठकमा सहभागी एक सुरक्षा अधिकारी भन्छन्ः सिन्धुली जिल्ला कोरोना संक्रमणको उच्च जोखिममा छ, यस्तो अबस्थामा हतारिएर निर्णयहरु गर्नु ठूलो भुल हुनेछ ।
यता सर्वदलीय बैठकबाट स्थानीय सरकार र स्थानीय प्रशासन बीचको दुरी बढेको देखिएको छ । बैठकमैं आफ्नो सहमति राख्दै मेयर खत्रीले सामाजिक दुरीलाई कायम राख्दै विकास निर्माणका कामलाई आफुले अगाडि बढाउने र यसअघि लगाएको प्रतिबन्धलाई फुकुवा गर्ने बताएका थिए, नभन्दै मंगलवार विहान ११ बजे बसेको बैठकले आब ०७६र०७७ मा सन्चालन गरिने विकास निर्माणका कार्यहरु मध्ये लकडाउनको कारण निर्माण रोकिएका योजनाहरु सामाजिक दुरि लगायत अन्य आवश्यक सुरक्षा सजगता अपनाई सुचारु गर्ने निर्णय गरेपछि दुई पक्षबीचको अन्तरसंघर्ष सतहमा आएको हो ।
