एमसिसीका विषयमा बालुवाटार बैठकमा भयो यस्तो कुराकानी

बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनमा आबद्ध चार दलको बैठक एमसिसीका विषयमा अनिर्णत भएको छ। निर्णायक भनेर आह्वान गरिएको बैठकमा दलहरुले आ–आफ्नै अडान व्यक्त गरेका छन्।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यसअघि झैं बिहीबारको बैठकमा पनि माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका नेताहरुलाई एमसिसी अनुमोदन गर्न सहयोगका लागि आग्रह गरे पनि उनीहरुले पुरानै कुरा दोहोर्‍याएका छन्।

जसका कारण सत्ता गठबन्धन लगभग तोडिन पुगेको छ। एमसिसी पारित गर्न सहयात्री दलहरुसँगको छलफल सकारात्मक हुन नसकेपछि देउवाले विपक्षी एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट गएका छन्।

तीन घण्टासम्म चलेको बालुवाटार बैठकमा एमसिसीबारे खुलेर छलफल भएको कांग्रेस नेतासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। अर्का एक नेताका अनुसार बैठकमा एमसिसीको प्राविधिक पक्ष, कानुनी पक्ष र राजनीतिक पक्षबारे नेताहरुबीच छलफल भएको छ।

बैठकको सुरुवात गर्दै प्रधानमन्त्री देउवाले फागुन १६ गतेसम्म एमसिसी जसरी पनि पारित गर्नुपर्ने भएकाले सहयोग गर्न आग्रह गरे। देउवाको भनाइ उद्धृत गर्दै सहभागी ती नेताले भने, ‘फागुन १६ गतेसम्म एमसिसी जसरी पनि पारित गर्नुपर्छ। तपाईंहरु सहयोग गर्नुहोस्, गठबन्धन जोगाएर जाऔँ।’

प्रधानमन्त्री बोलेका माओवादी अध्यक्ष प्रचण्डले पृष्ठभूमिसहित एमसिसी यथास्थितिमा पारित गर्न नहुने यसअघिकै भनाइ दोहोर्‍याएका थिए।

उनले एमसिसी सम्झौतालाई संसदमा लैजाने कानुन नै स्पष्ट नभएको र आर्थिक सहायता सम्बन्धित यस्ता विषय लैजाँदा भविष्यमा पनि समस्या हुने धारणा राखे। दाहालले सहमित नभइ सदनमा टेबल गर्न खोजिएमा विरोध गर्ने र विपक्षमा मतदान गर्ने बुधबारको संसदीय दलको बैठकको निर्णय फेरि व्यक्त गरेका थिए।

‘एमसिसी कुन प्रावधानअनुसार संसदमा अनुमोदनका लागि लैजाने? यस विषयमा हामी कति स्पष्ट छौँ? गठबन्धनमा सहमति नभइ लैजानुभयो भने हामी विरोध गर्छौँ, विपक्षमा मतदान गर्छौँ,’ दाहालले अगाडि भने, ‘अहिले संसद सुचारु नभएको, राष्ट्रियताबारे समाज विभाजित भएको बेला दीर्घकालीन महत्वको विषय कसरी लैजाने?’

दाहालसँगै नेता नारायणकाजी श्रेष्ठले पनि तत्काल पेश गर्न नहुने पक्षमा अडान राखे। श्रेष्ठले भने, ‘यो सम्झौता अनुमोदनका लागि संसदमा किन लैजाने? नेपालको कानुनलाई सम्झौताले ओभर रुल गर्छ। तर त्यो कसका लागि गर्दैछौँ? हाम्रो कानुनलाई कमजोर बनाउन लाने? आर्थिक सहयोगसम्बन्धी सहयोग पहिलो पटक संसद लैजाँदै छौँ किन? प्रष्ट हुनुहन्छ?’

श्रेष्ठले अन्तिममा जबरजस्ती गरेर अघि बढाए विपक्षमा मत हाल्ने चेतावनी दिए। उनले भने, ‘जिद्दी गरेर लैजानुभयो भने विपक्षमा भोट हाल्छौँ’

त्यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने कतिपय विषय आपत्तिजनक भएकाले ती विषय सम्बोधन हुनुपर्ने र गठबन्धमा सहमति गरेर मात्रै अघि बढाउनु पर्ने धारणा राखे। नेपालले शनिबार आफ्नो पार्टीले स्थायी कमिटिको बैठक बोलाएकाले त्यहाँबाट निर्णय गर्ने भन्दै पर्खिन आग्रह गरेका थिए। तर कांग्रेस नेताहरुले अब पनि दलहरुको आन्तरिक छलफलका लागि पर्खिन नसक्ने जवाफ दिए।

बैठकमा सहभागी जसपाका नेताहरु डा. बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठबीच नै मत बाझिएको स्रोतले जानकारी दियो। भट्टराईले अनुमोदनका लागि सदनमा पेश गरिहाल्नुपर्ने धारणा राखे भने श्रेष्ठले गठबन्धन र दलभित्र कुरा नमिलेको अवस्थामा अघि बढाउन नहुने सुझाव राखे। भट्टराईले भने, ‘यसलाई अब पनि ढिलो नगरौँ। धेरै विवादित भइसक्यो।’

बिहीबारको बैठक सकारात्मक नभए पनि दलहरुबीच शुक्रबार बिहान फेरि छलफलमा जुट्ने सहमति भएको छ। तर त्यसअघि नै कांग्रेस र एमालेबीच गठबन्धन भत्काएर एमसिसी पारित गर्ने विषयमा ठोस सहमति बन्ने संभावना देखिन्छ।