स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आइतबार शहीद दिवस मनाइँदैछ । प्रत्येक वर्ष माघ १६ गते यो दिवस मनाइन्छ ।
दिवसका अवसरमा शान्तिवाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम हुँदैछ । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी सहभागी हुनेछन् ।
प्रभातफेरीे शहीद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ । कोरोनाको तेस्रो भेरियन्ट सक्रिय रहेकाले सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर कार्यक्रम गर्न लागिएको हो ।
गोकर्णेश्वरमा निर्माण भइरहेको राष्ट्रिय शहीद स्मारकमा पनि विशेष कार्यक्रम हुँदैछ । शहीदगेटमा पनि विभिन्न सङ्घ संस्थाले कार्यक्रम गरी दिवस मनाउने गरेका छन् ।
माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ ।
राणा शासनविरुद्ध विद्रोह गरेका चार शहीदलाई माघ दशदेखि १५ गतेसम्म मृत्युदण्ड दिइएको थियो । शुक्रराज शास्त्री, धर्मभक्त माथेमा गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई राणाहरुले मृत्युदण्ड दिएका थिए ।
सोही समयको स्मरणमा शहीद दिवस तथा सप्ताह मनाउने गरिएको हो । शहीद दिवसका अवसरमा आइतबार सरकारले सार्वजनिक विदा समेत दिएको छ ।
राष्ट्रपति भण्डारीको शुभकामना
राष्ट्रपति विद्यादेवी भण्डारीले शहीदहरूको बलिदानद्वारा प्राप्त भएको शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास व्यक्त गरेकी छिन् ।
शहीद दिवसको अवसरमासन्देश दिदै उनले शहीदको आकांक्षा साकार बनाउन सबैलाई आ–आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिकालाई इमान्दारीका साथ पूरा गर्न पनि अनुरोध गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले स्वाधीन र स्वावलम्बी अर्थतन्त्रसहित सामाजिक तथा आर्थिक दृष्टिले एक विकसित राष्ट्र निर्माण गर्न आफ्नो जीवन बलिदान गरेकोपनि उल्लेख गरेकी छिन् ।