कमलामाई नगरपालिकाका नगरप्रमुख खड्गबहादुर खत्रीले समयमै निर्वाचन गरी जनप्रतिनिधी छान्ने अधिकार सुनिश्चित गर्न गठबन्धन सरकारलाई आग्रह गरेकाछन् ।
कमलामाई नगरपालिका कार्यालय सिन्धुलीमा शनिवार पत्रकार सम्मेलन गरेर नगर प्रमुख खत्रीले भने, ‘लोकतन्त्रको सुन्दर पक्ष भनेको आबधिक निर्वाचन नै हो ।’ उनले समयमै निर्वाचन गरी जनताले मतदान गरी जनप्रतिनिधि छान्ने अधिकार सुनिश्चित गर्न आग्रह गरेका हुन ।
स्थानीय सरकार भनेको प्रत्यक्ष जनताका कामसँग जोडिने सबैभन्दा आधारभूत तहको सरकार रहेको उल्लेख गर्दै नगरप्रमुख खत्रीले स्थानीय सरकार खाली राख्ने परिकल्पना नेपालको संबिधान २०७२ ले उल्लेख नगरेको बताए ।
पत्रकारमाझ उनले भने, ‘स्थानीय तह खाली राख्नु भनेको संबिधानको मूलमर्म जनअधिकार माथिकै प्रहार हो भन्ने मेरो ठहर छ ।’
खत्रीले संघीय लोकतान्त्रिक गणतन्त्रको मुलभूत उद्देश्य बिपरित जनताको मताधिकारलाई कुण्ठित गर्ने, स्थानीय सरकार बिहीन स्थानीय तह बनाउने, म्याद थप्ने जस्ता बिषयले लोकतन्त्रलाई कमजोर पार्ने जिकिर गरेका थिए ।
उनले कुनै पनि बहानामा स्थानीय तहको निर्वाचन सार्ने कार्य बिल्कुलै बेठिक हुने दाबी गरेका छन् । तपाई संवद्ध दल नेकपा एमालेले औपचारिक रुपमा कुनै ठोस निर्णय नगरेका बेला किन निर्वाचनको माग गर्नुभयो भन्ने प्रदेशखबरको जिज्ञासामा उनले भनेका थिएः यो सिंगो पार्टीको भावना पनि हो र मैंले अभिव्यक्त गरिरहँदा आम जनसमुदायले सो कुरालाई जोड दिनुहुने छ । किनकी यो विषय अब मेरो व्यक्तिगत रहने र सिंगो एमाले र नेपाली जनताको माग पनि बनिसकेको छ ।
खत्रीद्वारा जारी बिज्ञप्तिमा लेखिएको छ, ‘जनताले आफ्नो अधिकार संविधानको मुल मर्म अनुसार नै प्रयोग गर्ने गरि नै समयमै स्थानीय तहको निर्वाचन गराउने बाताबरण बनाउन निर्वाचन आयोग, केन्द्रिय सरकार, आम जनसमुदाय, अधिकारकर्मी, नागरिक समाज, पत्रकार लगायत सम्पुर्ण महानुभाबमा हार्दिक अपिल गर्दछु ।’
