नेकपा एमालेका शीर्ष नेतालाई कोरोना संक्रमण देखिएको छ । महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य सुजिता शाक्यलाई कोरोना संक्रमण भएको सूचना सार्वजनिक भएलगत्तै अन्य नेताहरु पनि धमाधम संक्रमित बनेको सूचना आएको छ ।
महासचिव पोखरेलले शुक्रवार आफूलाई कोरोना संक्रमण भएको र घरमै आइसोलेशनमा बसेको जानकारी दिई सम्पर्कमा आएका सवैलाई सचेत रहन र पिसिआर परीक्षण गराउन सामाजिक सञ्जालमार्फत नै अपिल गर्नुभएको थियो । महासचिव दम्पत्तिमा कोरोना संक्रमण भएको केही घण्टापछि एमाले स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिनुभएको थियो ।
आज उपाध्यक्ष बिष्णु पौडेलले कोरोना संक्रमणमा परेको जानकारी गराउनु भएको छ । एमालेको जिल्ला अधिवेशन र प्रदेश अधिवेशनको दौडाहका क्रममा नेताहरु संक्रमणमा पर्नुभएको हो । जनसंगठनदेखि एमाले केन्द्रीय कमिटीका थुप्रै नेताहरु समेत संक्रमित हुनुभएको छ ।