प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई कोभिड–१९ को नियन्त्रण, रोकथाम तथा उपचार सम्बन्धमा ध्यानाकर्षण गराएको छ।
शनिबार दिउँसो एमाले संसदीय दलका उपनेता सुवाशचन्द्र नेम्वाङको नेतृत्वमा प्रधानमन्त्री देउवालाई ११ बुँदे ध्यानाकर्षण पत्र बुझाइएको हो। उक्त पत्रमा कोरोना नियन्त्रण , रोकथाम तथा उपचारमा कमजोरी उल्लेख गरिएको छ।
प्रधानमन्त्रीले व्यक्त गरेको खोप, खोप र खोप प्रतिबद्धताअनुसार खोप लगाउन नसकेको , खोपको प्रर्याप्तता हुँदाहुँदै पनि जनताले प्रयोग गर्न नपाएको, पहिलो र दोस्रो खोप लगाएकाहरूलाई बुस्टर डोज नदिइएको, जनशक्तिलाई प्रेरणा हुने खालका कार्यक्रमहरू संचालन हुन नसकेको एमालेले बताएको छ।
त्यस्तै सबै पालिकामा जनस्वास्थ्य निरीक्षकको व्यवस्था नभएको, नेपाल–भारत सिमाना र अन्तर्राष्ट्रिय विमानस्थलमा टेस्टिङ र होल्डिंग सेन्टरको व्यवस्था नभएको, टेस्टिङ र ट्रेसिङ कार्यमा वृद्धि नभएको, औषधी, उपकरण, खोप र जनशक्तिको देशव्यापी उपलब्धताका लागि ठोस पहल नभएको एमालेले उल्लेख गरेको छ ।















