नेकपा एमाले सिन्धुलीको सातौँ जिल्ला अधिवेशनमा अध्यक्षका लागी तीन जना प्रतिष्पर्धीहरु देखिएका छन् । सुरुवाति चरणमा ५ जनाको दावि रहेको बिबरणहरु बाहिर आएपनि हाल चार जना मात्र चर्चामा रहेका छन् । तर उच्चतम् लोकतान्त्रिक बिधी अर्थात निर्वाचन प्रक्रियामा पुगे तीन जनाका बीच प्रतिस्पर्धा हुने देखिएको छ । तर मंगलवार साँझसम्म औपचारिक रुपमा तीनै नेताले आफु अध्यक्षको उम्मेदवार हो भनेर मिडिया सामु मुख खोलेका छैनन् ।
आसन्न सातौं अधिवेशनमा वर्तमान अध्यक्ष प्रदीप कटुवाल, बरिष्ठ नेता केशव देवकोटा, रामकुमार कार्की र कौशल कोइरालाले आफुलाई अध्यक्षको उम्मेदवारको रुपमा उभिन्ने बताएका छन् । उनीहरु चारै नेताले नेता कार्यकर्ताहरुको दबाबका कारण आफुहरु आउँदो जिल्ला अधिवेशनमा अध्यक्षको उम्मेदवार बन्न लागेको बताउँदै आएका छन् ।
एमालेका वर्तमान अध्यक्ष प्रदीप कटुवाललाई तपाई फेरी पनि किन अध्यक्ष बन्न इच्छुक हुनुहुन्छ भन्ने सन्देश जनप्रिय साप्ताहिकको जिज्ञासामा भनेका छन्ः पार्टीका साथीहरुले, विभिन्न क्षेत्र र भुगोलका कार्यकर्ताहरुले फेरी पनि सिन्धुली एमालेको नेतृत्व तपाईलेनैं गर्नुपर्छ भनिरहेका छन् । उनीहरुलेनैं प्रदीप कटुवाल अध्यक्ष हो भन्दैछन् । त्यही कारणले पनि बाहिर मेरो चर्चा भएको हो । नेकपा एमालेलाई एकतावद्ध र बलियो पार्टी बनाउन र जिल्लामा विभिन्न बिचार समूहबाट आएका साथीहरुलाई एकै साथ मिलाएर लैजान पनि अध्यक्षमा मेरो उपस्थिती जरुरी ठानेको पनि छु । तर मैंले औपचारिक रुपमा अध्यक्षको उम्मेदवार घोषणा गरेको छैन । प्रतिनिधी साथीहरुले फेरी कटुवालै चाहिन्छ भन्नुभयो भने म पार्टी अध्यक्ष बनाएर एमालेलाई बलियो र जनप्रिय पार्टी बनाउन सक्रिय हनेछु ।
त्यसैगरी एमालेका अर्का नेता केशव देवकोटालाई तपाईनैं एमाले सिन्धुलीको अध्यक्ष किन ? भनेर सोधिएको जिज्ञासामा भनेकाछन्ः अहिलेको नेकपा एमाले नेकपाकै निरन्तरता हो । हामीले विभिन्न प्रक्रियामा जोडिएका नेता कार्यकर्ताहरुलाई एकै साथ लगेर सिन्धुलीमा बलियो एमाले बनाउनु छ । कार्यकर्तामा एमाले प्रतिको उर्जा र युवाहरुमा जोश र जाँगर बढाएर पार्टीलाई कमिटीगत प्रणालीबाट सञ्चालन गर्नु छ । जिगतमा एमालेको गिरेको शाखलाई उचाईमा पु¥याउन र कार्यकर्ताको मन मस्ष्किमा निष्ठावान एमाले बनाउनु छ । तिनै चरणको निर्वाचन आइरहेको छ । उक्त निर्वाचनमा एमालेलाई बिजयी बनाउनु छ । त्यसैले यी सबै कामहरु गर्नका लागि एमालेका कार्यकर्ताहरुले तपाई जिल्ला पार्टी अध्यक्ष बन्नुपर्छ र त्यो सबै काम तपाईबाट मात्रै संभब हुन्छ भनिरहनु भएको छ । म एक्लैले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्ने होइन । नेता कार्यकर्ताको जगमा उभिएकाले उहाँहरुको सुझाव र सल्लाहलाई मैंले मानेरै अगाडि बढ्ने हो । उहाँहरुले तँ नैं चाहिन्छ भन्नुभयो भने मेरो अध्यक्ष पदमा उम्मेदवारी रहन्छ ।
त्यसैगरी अर्का अध्यक्षका प्रत्यासी रामकुमार कार्की पनि आउँदो सातौं जिल्ला अधिवेशनका लागि मैदान देखिएका छन् । विगतदेखीनैं आफुलाई पार्टीमा पछाडि पारिएको र र पटक पटक नेतृत्वले आफुलाई धोखामात्रै दिएको बताए । तपाईनैं अध्यक्षका किन ? भनेर सोधिएको जिज्ञासामा नेता कार्की एमालेलाई एकताबद्ध गर्न र पार्टीलाई कमिटीगत प्रणालीबाट चलाउन, आउँदो निर्वाचनमा अन्य दलहरुसँग डटेर सामाना गर्न, युवाहरुलाई सशक्त भूमिका निर्वाह गराउनका निम्ती, प्रथम विधान अधिवेशनले पारित गरेका राजनैतिक तथा सांगठानिक तथा राजनैतिक कार्यदिशालाई कार्यान्वयन गराउनका निम्ती, दक्षिणपन्थी अबसरवाद र सांगठानिक अराजकता विरुद्ध लड्नका लागि आफ्नो अध्यक्षमा दाबी रहेको बताए । उनले अगाडि भनेः पार्टीका साथीहरुले यस पटक तपाईनैं अध्यक्ष बन्नुपर्छ भनेपछि मैंले उहाँहरुको भावनाको कदर गरेको हुँ ।
अध्यक्ष पदका लागि चर्चामा रहेका अर्का नेता कौशल कोइराला पनि हुन् । म निर्वाचन मार्फत एमाले अध्यक्ष्ब बन्नका लागि मैदानमा आउँदिन तर मेरो उम्मेदवारी भनेको सर्बसम्मत अध्यक्षका लागि हो । बिभिन्न मनहरु मिलेर बनेको सिन्धुली एमालेलाई फेरी पनि चुनावी मैदान लगेर कार्यकर्ताहरुका बीच फाटो ल्याउने काम गलत हुन्छ र त्यसले एमालेलाई कमजोर बनाउँछ भन्ने मेरो दृश्ढ मान्यता छ । जिल्ला पार्टीको नयाँ नेतृत्व सर्वसम्मत हुनु पर्छ र त्यसको नेतृत्व मैंले मात्रै गर्न सक्छु भन्ने सबैलाई विश्वास दिलाउन चाहान्छु, तपाई एमालेको अध्यक्ष किन ? भनिएको जनप्रियको जिज्ञासामा नेता कोइरालाले भनेका थिए । उनले सामाजिक सञ्जाल फेसबुमा आफ्नो एजेण्डा यसरी प्रस्तुत गरेको देखिएको छ । आगामी दिनमा पार्टी शुद्धीकरण र सुदृढीकरणको कामलाई अभियानको रुपमा अघि वढाउनु पर्छ ।
पार्टी भित्र विकृति र विसंगति मौलाएका छन् यसलाई समाप्त गर्नु पर्छ र पार्टी भित्र आचरण, शैली,पद्दति र विचार र व्यवहारमा सुधार गर्नुपर्छउनले भनेका छन् । उनी अगाडि लेख्छन्ः पार्टीमा वैचारिक, संगठनात्मक र भावात्मक एकता कायम गर्नु पर्छ । स्वघोषित योग्य नेता ठान्ने प्रवृत्ति त्याग्नु पर्छ । हठी पदलोलुप र आत्मकेन्द्रित प्रवृत्ति त्याग्नु पर्छ । त्यसैगरी आगामी दिनमा संगठनात्मक क्षेत्रमा निम्न कार्यहरु गर्न आवश्यक रहेको उनको देखाई छ ।
विचारधारात्मक काम, विधानको पालना, जनवादी केन्द्रियताको पालना, सुचना तथा अभिलेख प्रणाली व्यवस्थित गर्ने, मुल्याङ्कन प्रणाली स्थापीत गर्ने, कामको नियमित प्रतिवेदन पठाउने,योजनावद्ध काम, कामको नियमित समिक्षा, आलोचना, आत्मालोचना गर्नु पर्ने, कमिटी प्रणाली स्थापीत गर्ने, समस्या एकिकृत गर्ने र समाधान खोज्ने,विकास निर्माण कार्यमा नेतृत्व गर्ने, अध्ययन र प्रशिक्षण सञ्चालन गर्ने, सवै कामको निरिक्षण र अनुगमन गर्ने, पार्टी नेतृत्व आधारभूत तहमा जानु पर्छ, हाम्रा कार्य शैलीमा सुधार गर्नु पर्छ र कम्युनिष्ट आचरणको पालना गर्नु पर्छ, कोइरालाले लेखेकाछन् ।
यसैबीच सातौं अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जिल्ला अध्यक्ष प्रदीप कटुवालले जानकारी दिनुभयो । उहाँले कमलामाई पार्टी प्यालेसमा जिल्ला उद्घाटन हुने र सर्वसम्मत नेतृत्व छनोट हुन नसकेमा निर्वाचन प्रक्रिया मार्फत जानका लागि शिक्षक संगठन सिन्धुलीका अध्यक्ष हरि पोखरेल, निजामती कर्मचारी संगठनका अध्यक्ष पुरुषोत्तम दाहालसहितको निर्वाचन मण्डल पनि गठन गरेको छ ।











