मिडियामा प्रकाशित टिकाटिप्पणीले महाधिवेशनको अपमान गरेको छ: अध्यक्ष प्रचण्डले

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नयाँ नेतृत्व चयन प्रजातान्त्रिक र जनवादी विधिबाट भएको दावी गरेका छन् । मिडियामा प्रकाशित विभिन्न टिकाटिप्पणीले महाधिवेशनको अपमान गरेको उनको गुनासो छ ।

केन्द्रीय समिति बैठकले अध्यक्षमा निर्वाचित गरेपछि सम्वोधन गर्दै प्रचण्डले नेतृत्व चयनका विषयमा भइरहेको आलोचनाको बचाउ गरेका हुन् । उनले भने, ‘हामीले अपनाएको शैली र विधि पुरै जनवादी र लोकतान्त्रिक छ । हामी बेर्जुवा अराजकतातर्फ जाने खतरा पनि थियो, त्यो हुन दिएनौं । एक व्यक्तिको निरंकशता हावी हुन दिएनौं ।’ प्रचण्डले प्रदेशहरुमा अन्तरक्रिया गएर त्यहाँबाट दिएको नामहरुलाई नै आयोजक समितिले महाधिवेशनमा पेश गरेको बताए ।

प्रचण्डले थपे, ‘मैले कतिपय मिडियामा झल्याकझलुक पनि देखेँ, प्रचण्डले ताली बजाउन भन्यो, प्रतिनिधिले बजाए र महाधिवेशन सकियो भन्ने खालका । यसले हाम्रो अपमान गर्न खोजिएको छ । महाधिवेशनमा आएका १८ सय प्रतिनिधिको अपमान भएको छ । सबैभन्दा बढी देश र जनताको हक अधिकारको बारेमा बहस भएको महाधिवेशन कसैको आदेशमा चलेको भनेर प्रचार गर्नुभन्दा ठूलो बिडम्बना के हुन सक्छ ?’ प्रचण्डले पार्टीको महाधिवेशनले क्रमभंग गरेको दावी पनि गरे ।