नेकपा एमालेले राष्ट्रियसभा सदस्यमा सिन्धुलीकी निरु दर्लामीसहितका उम्मेदवारहरु टुंगो लगाएको छ । सचिवालयको बैठकले राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुने १९ सिटका उम्मेदवार टुंगो लगाएको प्रचार विभाग एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुव्वा गुरुङले जानकारी दिए ।
प्रदेश–१ मा खुलातर्फ देवराज घिमिरे (झापा), महिलातर्फ सुमित्रा भण्डारी (झापा) र अल्पसंख्यकतर्फ सोनाम ग्याल्जेन शेर्पा (सोलुखम्बु), प्रदेश–२ मा खुलातर्फ असर्फी भिनवार यादव (धनुषा) र महिलातर्फ बिना साह (रौतहट) बागमतीमा खुलातर्फ गोपाल शाक्य (ललितपुर) र महिलातर्फ निरकुमारी कुँवर (निरु) दर्लामी (सिन्धुली) उम्मेदवार बन्ने भएका छन् ।
यस्तै, गण्डकीबाट खुलातर्फ पुण्यप्रसाद पौडेल (कास्की), महिलातर्फ लीला पोखरेल थनेट (नवलपुर) र दलिततर्फ गोविन्दबहादुर नेपाली (बाग्लुङ), लुम्बिनीमा खुलातर्फ रामदयाल गुप्ता (दाङ), महिलातर्फ भारती खनाल (बाँके) र दलिततर्फ कृष्णबहादुर सुनार (गुल्मी), कर्णालीमा खुलातर्फ चूडामणि शर्मा (सुर्खेत), महिलातर्फ गंगा थापा महत (जुम्ला) र अल्पसंख्यकतर्फ पदमबहादुर माझी (दैलेख) उम्मेदवार बन्ने भएका छन् ।
सुदूरपश्चिमबाट खुलातर्फ डिल्लीराज भट्ट (डोटी), महिलातर्फ सन्तोषकुमारी शर्मा (कैलाली) र दलिततर्फ नरेश बिक (बैतडी) लाई उम्मेदवार बनाउने निर्णय एमालेले गरेको छ । आगामी फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेका राष्ट्रियसभाका २० सांसदको पद रिक्त हुँदैछन् । रिक्त हुन लागेको २० सिटमध्ये राष्ट्रपतिबाट मनोनित हुने एक स्थानबाहेक १९ सिटका लागि यही माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ७ वटै प्रदेशमा निर्वाचन हुँदैछ ।











