‘सरकारले पुँजीगत खर्च गर्न नसक्दा बजारमा तरलता समस्या आयो’

अर्थमन्त्री जनार्दन शर्माले सरकारले पुँजीगत खर्च गर्न नसक्दा बजारमा तरलता समस्या आएको बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको नवउत्थान सम्मेलनमा अर्थमन्त्री शर्माले सरकारले पुँजीगत खर्च गर्न नसक्दा बजारमा तरलता समस्या आएको बताए।

उनले यसरी सरकारको पुँजीगत खर्च गर्न नसक्दा वित्तीय प्रणालीमा गहिरिँदै गएको तरलता अभाव समाधान गर्न गम्भीर भएर लागिपरेको बताए। मन्त्री शर्माले मासिक १० प्रतिशत पुँजीगत खर्च गर्ने योजना बनाएको तर प्रतिस्थापन बजेट ल्याउनुपर्नेलगायत कारण खर्च हुन नसकेको स्विकारे। पुँजीगत खर्च विगतका सरकारले पनि गर्न नसकेको बताए।

उनले सरकार र केन्द्रीय बैंक बजारको अहिलेको तरलता अभाव अन्त्य गर्न गम्भीर भएर लागेको बताए। अर्थमन्त्री शर्माले विद्युत् निकासीभन्दा पनि आन्तरिक खपत बढाउने नीति आवश्यक भएको बताए। उनले नेपालमा उत्पादित विद्युत् भारतमा बिक्री गरेर व्यापार घाटा कम नहुने पनि बताए।

उनले भने, ‘पुँजीगत खर्च कम भएकाले संकलित राजस्वसमेत थन्किएर बसेको छ। यसरी पुँजीगत खर्च गर्न नसक्दा नै बजारमा तरलता अभाव देखिएको छ।’

बजारको तरलता समस्या समाधानका लागि निजी क्षेत्रले आवश्यक सुझाव दिनुपर्ने उनले बताए। तरलता अभाव समस्या पुसभित्र समाधान गगरिने उनले जानकारी दिए।

निजी क्षेत्रकै सुझावअनुसार आगामी नीति तय गरिने उनले बताए। अर्थमन्त्री शर्माले विद्युत् खपत गरी वस्तु उत्पादन र रोजगारी सृष्टि गरेर मात्र व्यापार घाटा कम गर्न सकिने बताए। उनले विद्युत् महसुल घटाएर उत्पादन गर्ने उद्योगलाई उपलब्ध गराउनुपर्नेमा जोड दिए।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले लगानीयोग्य रकम प्राप्त नहुँदा अर्थतन्त्रमा ठूलो असर परेको बताए। उनले तरलता अभाव चालु वर्ष सहज हुने अवस्था नभएको बताए।

अध्यक्ष गोल्छाले मुलुकमा नयाँ वैदेशिक लगानीसमेत बढ्न नसकेको बताए। उनले नेपाली अर्थतन्त्र जुर्मुराउनासाथ तरलता समस्या देखिने गरेको बताए। सरकारले राजस्व उठाए पनि खर्च गर्न नसक्दा बजारमा तरलता अभाव भएको उनको भनाइ छ।

लगानीयोग्य रकम अभाव हुन नदिन सरकार र केन्द्रीय बैंक गम्भीर बन्नुपर्ने उनले बताए। कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नीतिगत रूपमा लगानीकर्तालाई संरक्षण गर्नुपर्नेमा जोड दिए।

उनले सरकारले लगानीमैत्री कानुन निर्माण गर्नेबित्तिकै लगानी आफैं भित्रिने बताए।

उनले भने, ‘नेपालमा भाषणमा एउटा र व्यवहारमा अर्कै भएकाले लगानी बढ्न सकेको छैन। दुई वर्षदेखि मुलुक महामारीको चपेटामा छ। यसअघि यस्तो महामारी र यति लामो समयसम्म हामीले भोगेका थिएनौं। यसले स्वास्थ्य जोखिमसँगै अर्थतन्त्रमा पनि यति गहिरोसँग असर गर्ला भनेर विश्वमा सायदै कसैले सोचेका थिए।’

वरिष्ठ उपाध्याक्ष ढकालले नेपालको आर्थिक विकासमा मलेसियाको महाथिर मोडल अनुसरण गर्नुपर्ने बताए। उनले महाथिर मोडलले मलेसियालाई धनी बनाएको उल्लेख गर्दै नेपालका सरकार तथा नेतृत्वले ध्यान दिनुपर्ने बताए।