निर्वाचनमा पराजित भएको भोलिपल्टै शेखर कोइरालका चार सन्देश

सभापतिमा पराजित भएको भोलिपल्टै(बुधबार) डा. शेखर कोइरालाले मतदातालाई धन्यवाद कार्यक्रममार्फत चार सन्देश दिएका छन्।

बुधबार भएको दोस्रो चरणको चुनावबाट कोइरालालाई पराजित गर्दैै देउवा पार्टी सभापतिमा निर्वाचित भएका हुन्। देउवाले २७ सय ३३ मत पाएका छन् भने कोइरालाले १८ सय ५५ मत पाए।

परिणामपछि उनले सार्वजनिक कार्यक्रम गर्दै पार्टी सभापति शेरबहादुर देउवा र अरुलाई चारवटा मुख्य सन्देश दिएका छन्।

१. कांग्रेसलाई नयाँ ढंगले चलाऊ

डा. कोइरालाले सभापति देउवालाई पार्टीलाई नयाँ ढंगले चलाउन सुझाव दिए। उनले कांग्रेसलाई व्यवस्थित रुपमा नचलाए प्रतिवाद गर्ने चेतावनी दिएका छन्। ‘जसरी साढे पाँच वर्ष बेथितिका हिसाबले पार्टी चल्यो, त्यसरी चल्न थाल्यो भने हामी सशक्त रुपमा उठ्ने छौँ,’ कोइरालाले भने।

२. चार वर्षपछि लगत्तै अधिवेशन, अहिलेजस्तो अतिरिक्त समय पाउँदैनौ

कोइरालाले सभापति देउवालाई चार वर्षे कार्यकाल स्मरण गराएका छन्। शुभकामना दिँदै आफूले हारलाई स्वभाविक रुपमा लिएको उल्लेख गर्दै उनले विधानअनुसार चार वर्षमै अधिवेशन हुनुपर्ने प्रष्ट धारणा राखेका छन्। अहिले जस्तो विधानले दिएको अतिरिक्त एक वर्ष र संविधानले दिएको थप ६ महिनाको अवधि कटाएर महाधिवेशन नगर्न देउवालाई सुझाव दिएका छन्। ‘हारलाई स्वभाविक रुपमा लिएको छु। कुनै कुण्ठा छैन। कसले के गर्‍यो, कसले सहयोग गर्‍यो वा गरेन मैंले मनमा लिएको छैन,’ कोइरालाले अगाडि भने, ‘यो चुनावमा राम्रो के देखियो भने हामीले लिएको कदम विजयी भएको छ। हाम्रा राजनीतिक मुद्दा/एजेण्डा स्थापित भएको छ।’

३. गुटबन्दी गर्दिनँ, भागवण्डा देऊ भनेर आउँदिनँ

कोइरालाले आफू पार्टीमा गुटबण्दी र भागवण्डामा नलाग्ने प्रतिबद्धता जनाए। अर्को महाधिवेशनमा जित्ने विश्वास व्यक्त गर्दै उनले भने, ‘आजैदेखि म कांग्रेसको रुपातन्तरणमा लागेको छु। तपाईंहरुको घर दलोमा आउनेछु। आगामी अधिवेशनमा हामी जित्छौँ। भागवण्डा र गुटबन्दीको राजनीतिमा लाग्दैनौँ। उहाँहरुलाई सोच्न बाध्य बनाउँछौँ।’

४. अर्को अधिवेशनमा म नै फेरि उम्मेद्वार बन्छु

उनले आउँदो १५औँ महाधिवेशनमा पनि आफू नै उम्मेद्वार हुने संकेत गरे। कोइरालाले भने, ‘अर्को अधिवेशनमा हामी जित्छौँ। मैंले राजनीतिक यात्रा नयाँ ढंगले सुरु गरेको छु।’ आफ्नो समूहले युवाहरुका लागि पार्टीमा अवसरको ढोका खोलेको दाबी गरे। कोइरालाले भने, ‘युवा पुस्ताका लागि नेपाली कांग्रेसभित्र अवसरै अवसरको ढोका खोलिदिएका छौँ।’