नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले औद्योगिक क्षेत्रमा लगाउनुपर्ने पुँजीको लगानी पुँजी बजारमा हुनु साम्राराज्यवादको विकसित रुप भएको बताएका छन्।
शनिबार माओवादी केन्द्रको सबै प्रदेशको प्रदेश सम्मेलनलाई काठमाडौँबाट एकैसाथ उद्घाटन गर्दै अध्यक्ष दाहालले पछिल्लो समय पुँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुन छाडेर पुँजी बजारमा लगानी हुनु सामराज्यवादको विकसित रुप भएको बताएका हुन्।
अध्यक्ष प्रचण्डले एकाधिकार पुँजीवाद र संशोधनवाद जोडिएर वित्तीय एकाधिकार पुँजीवादमा भूमण्डलीकृत पुँजीवाद बन्दै गएको भन्दै यसलाई निस्तेज गर्ने गरी पुँजी बजारको विषममा पार्टीको दस्तावेजमा नै समावेश गराउने योजना सुनाए। उनले शेयर बजारप्रति लक्षित गर्दै पहिले–पहिले पुँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुने गरेको तर, अहिले लगानी पुँजी वा दोश्रो बजारमा हुनु वित्तीय पुँजीवादको विशेषता भएको बताए।
नेपाल लगायत विश्वभर नै पुँजीको लगानी धितोपत्र, सट्टा बजार,आईएमएफ,विश्व बैंक र एसियाली बैंकहरुमा हुने गरेको उनको भनाइ छ।
उनले भने,‘पुँजीको लगानी पुँजीमा हुनु सामराज्यवादको विकसित हुनु हो। उद्योग र उत्पादन क्षेत्रमा पुँजीको लगानी नहुनु नै वित्तीय पुँजीवादको विशेषता भएको छ। अहिले धितोपत्र बोर्ड, सत्ता बजार, आईएमएफ, विश्व बैंक, एसियाली बैंक लगायतमा लगानी हुन्छ। हामीले यी बैंकहरुले पैसा जम्मा गरेर यताउता लगानी गर्दछन् भन्ने गरेका छौँ। तर, त्यस्तो होइन। यसरी सेयर बजारमा लगानी गर्नु साम्राराज्यवादका विकसित रुप हुन्। यसरी वित्तीय एकाधिकार पुँजीवादलाई बलियो बनाएर अगाडि बढाउने नाफा उठाएर विश्वका सीमित पुँजीपतिहरुको हातमा संसारकै धन एक कठ्ठा गर्ने योजना हो। यसरी विश्वको पैसा सीमित पुँजीपतिहरुले हातमा लिएर ८० प्रतिशत जनतालाई भोको र नाङ्गो राख्ने प्रणाली पुँजीबजार हो। पुँजीबजारमा लगानीको विकास र विस्तारलाई हामीले परास्त गर्नु सक्नु पर्छ। पुँजीबजारबाट पुँजीपतिहरुले सिधै पुँजीबाट पुँजी लिने गर्दछ। अब पुँजीको लगानी उत्पादनमा हुँदैन। बैंकहरुले सिधै घरजग्गा किनबेचमा लगानी लगाउँछन्। घरजग्गाको कारोबारबाट सिधै पैसा आउने गर्दछ। थोरै लगानीमा छोटो समयमा अर्बौँ कमाउने गरेका छन्। अहिले विश्वभर नै सेयर बजारमा लगानी बढ्न थालेको छ।’
अध्यक्ष प्रचण्डले विश्वभर नै यो क्षेत्रमा पुँजी लगानी बढ्दै गएकाले यसको अध्ययन अनुसन्धान र विश्वलेशण गर्नु जरुरी भएको बताए। उनले यस प्रकारमा विकृतिको विश्लेषण गरेर यससँग लड्ने तरिका खोज्ने अभिभारा माओवादी आएको बताए। यसको अनुसन्धान नगरेसम्म देशमा, मुलुकको अर्थतन्त्रमा उज्यालो पनि नआउने उनको भनाइ छ।











