नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले र कांग्रेसको अधिवेशन विचार र सिद्धान्तको बारेमा छलफल गर्ने नभइ भीड जम्मा गर्ने थलोको रुपमा रहेको टिप्पणी गरेका छन्।
शनिबार माओवादी केन्द्रको सबै प्रदेशको प्रदेश सम्मेलनलाई काठमाडौँबाट एकैसाथ उद्घाटन गर्दै अध्यक्ष दाहालले नेकपा (एमाले) र नेपाली कांग्रेसको अधिवेशनमा विचार र सिद्धान्तको बहस नभएको टिप्पणी गरेका हुन्।
एमाले अधिवेशनलाई पञ्चर्यालीको संज्ञा दिँदै उनले एमाले अधिवेशन विचार हिनताको र विचार शून्यताको अधिवेशनको रुपमा सम्पन्न भएको बताए।
त्यस्तै अहिले चलिरहेको नेपाली कांग्रेसको अधिवेशनमा पनि राष्ट्र कस्तो बनाउने र समाजवादउन्मुख राज्य कसरी बनाउने भन्ने सम्बन्धमा बहस नगरिएको भन्दै आलोचना गरे।
उनले भने, ‘अरु पार्टीले ठुल्ठुला अधिवेशन भनेर भीड जम्मा गर्ने गरेका छन्। तपाईं हामीले देख्यौँ, एमाले नामको अधिवेशन पनि देख्यौँ, अहिले कांग्रेसको अधिवेशन चलिराखेको छ। तर ती सबै एमाले त मैले त त्यसलाई पञ्चर्यालीभन्दा अरु देख्दिनँ। सिद्धिने बेलाको, निभ्ने बेलाको बत्ती भन्याजस्तो मात्रै हो त्यो। त्यहाँ न कुनै विचार, न कुनै बहस, न कुनै विधि, न कुनै पद्धति, निरंकुशताको, विचार शुन्यता र विचारहिनताको अधिवेशनको रुपमा गयो त्यो।’
अध्यक्ष दाहालले माओवादी पार्टीभित्र वैचारिक अस्पष्टताका कारण गुटबन्दी र अराजकता लगायतका समस्या देखिएको बताए। पार्टीभित्र विचारको समस्या रहेको र गन्तव्य स्पष्ट नभएको उनको भनाइ छ।
उनले आगामी राष्ट्रिय सम्मेलनबाट २१ औँ शताब्दीलाई सुहाउँदो नयाँ विचार लिएर आउने र पार्टीलाई विचारमा सशक्त बनाउने पनि बताए।
उनले, ‘हाम्रो यावत् समस्याहरु छन्। गुटबन्दीका समस्या, अराजकता समस्या, स्वार्थ, पदलोलुपताका समस्या, हिजो कसरी क्रान्ति सफल पार्ने भन्ने चिन्ता हुन्थ्यो। आज कसरी पद प्राप्त गर्ने भन्नेमा गाछौँ हामी। त्यो पद मैले पाउदिनँ कि, म त्यहाँ पुग्दिन कि भन्ने चिन्ता बढी हुन्छ। यस्तो भएको सन्दर्भमा, यो सबैको चुरो कारण न कार्यकर्ता हो, न नेता हो। नेता र कार्यकर्ताको व्यक्तिगत समस्याको रुपमा यसलाई बुझिनु हुँदैन। यो विश्व इतिहासको र नेपालको पनि इतिहासमा क्रान्तिको नयाँ विचारको खोजीको चुनौती हो। यो सबै हामीभित्र देखापर्ने कुरा भनेको विचारको समस्या हो। वैचारिक स्पष्टताको अभावको समस्या हो।’
उनले माओवादी अस्पष्ट भएका कारण हेपिनुपरेको भन्दै माओवादीलाई हराउने तागत नेपालमा कसैको नभएको दाबी गरे। अध्यक्ष दाहालले आगामी चुनावमा एक नम्बर पार्टी हुनेगरी आक्रामक रुपले प्रस्तुत हुन नेता, कार्यकर्ताहरुलाई निर्देशनसमेत दिए।