नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलले महाधिवेशनलाई औपचारिकता मात्रै सीमित गर्न खोजिएको भन्दै असन्तुष्टि जनाएका छन्।
१४औँ महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गर्दै पौडेलले कार्यतालिका अनुसार अघि नबढ्दा हडबडमा महाधिवेशन गर्नुपरेको बताएका हुन्।
उनले महाधिवेशनमा पार्टीले लिएको समग्र नीतिबारे समीक्षा हुनुपर्ने भए पनि त्यस्तो नभएको भन्दै असन्तुष्टि जनाए। पौडेलले भने, ‘समग्र पक्षको बारेमा समीक्षा हुनुपथ्र्यो। तर यहाँ हुँदैन। महाधिवेशन विधि पुर्याउने काम मात्रै हुँदैछ। के कारणले कम्यनुनिष्टभन्दा पछाडि पर्यौ। त्यसको समीक्षा हुन आवश्यक छ।’
उनले कांग्रेसलाई सुधार गरेर कम्युनिष्टभन्दा अब्बल बनाउनुपर्ने जिकिर गरे। एमालेसँगको प्रतिस्पर्धा कठिन भएको उल्लेख गर्दै उनले समाना गर्नसक्ने कांग्रेस बनाउनुपर्ने बताए।
‘प्रतिपक्षीसँगको प्रतिस्पर्धा कठिन छ। प्रतिपक्षी दलको अवस्था अहिले पनि गाउँमा राम्रो छ। त्योसँग प्रतिस्पर्धा गर्नसक्ने पार्टी बनाउन आवश्यक छ। त्यसका लागि तयारीका साथ जानुपर्ने छ, नेता पौडेलले भने।
उनले देशमा संसद, सरकार र न्यायापालिका अस्तव्यस्त अवस्थामा रहेकाले सुधार आवश्यक रहेको औल्याए। पौडेलले भने, ‘पार्टीहरु अस्तव्यस्त भएका छन्। सरकार, संसद र न्यायपालिका अस्तव्यस्त भएको छ। अब त्यसलाई सुधार गर्न आवश्यक छ।’
पार्टीमा योगदानको कदर हुनुपर्ने र विधि सम्बत् रुपमा चलाउनुपर्नेमा उनले जोड दिए।