सिन्धुली बहिरा संघद्धारा अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा दीप प्रज्वलन

३० औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमाको अवसरमा सिन्धुलीमा बिहीबार साँझ दीप प्रज्वलन गरिएको छ । जुनार स्तम्भ नजिक सिन्धुली बहिरा संघ सिन्धुली, अपाङ्ग कल्याण संघ सिन्धुली, सिन्धुली अपाङ्ग महिला संघ सिन्धुलीको आयोजनामा दीप प्रज्वलन गरिएको हो ।


“हाम्रो प्राथमिकताको आधार अपाङ्गता भएका व्यक्तिको अधिकार” भन्ने नाराका साथ हरेक ३ डिसेम्बरमा अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदै आएको छ ।


अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धन, समावेशीकरण, सशक्तीकरण र अपाङ्गताका विविध सवालहरूमा सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले विश्वमा अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस सन १९९२ वाट मनाउन थालिएको हो । अपाङ्गहरू कसैको दया र संरक्षणमा होइन समान अवसर सहभागिता र पूर्ण अधिकारसहित स्वतन्त्ररुपमा आत्मसम्मानका साथ बाँच्न चाहन्छन् । अपाङ्गता भएकाहरूलाई सेवा होइन अधिकारको आवश्यकता छ । राज्य पुनः संरचनाका हरेक अङ्गमा अपाङ्गता भएकाहरूको प्रतिनिधित्व र समावेशीकरणको अधिकार सुनिश्चित हुनुपर्छ ।

राजनीतिक दलहरूको नीति र कार्यक्रमहरूमा यो विषयलाई उच्च प्राथमिकताका साथ समावेश गरिनुपर्छ ।संघ सिन्धुलीका अध्यक्ष विरु लामाको अध्यक्षतामा दीप प्रज्वलन गरिएको थियो । दीप प्रज्वलन कार्यक्रममा कमलामाई नगरपालिकाका मेयर खड्ग बहादुर खत्रीले मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रमको संचालन विजय तामाङले गर्नु भएको थियो ।संघ सिन्धुलीका अध्यक्ष विरु लामाले अपाङ्ग प्रति सवैको सकारात्मक बुझाई आवश्यक रहेको बताउनुभयो ।अपाङ्गहरूको हक अधिकार प्राप्तिका लागि विभिन्न गैर सरकारी संस्था गुहार्नु पर्ने अवस्था रहेकोमा सरकार अपाङ्गमैत्री बन्नु पर्नेमा उहाँको जोड थियो ।