नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौं महाधिवेशनमा सिन्धुली जिल्लाका तर्फबाट पार्टी केन्द्रले २० हजार कार्यकर्ताको सहभागिताका लागि कोटा तोकिदिएपनि जिल्लाबाट १६ हजार ४ सय कार्यकर्ताहरु सहभागी हुँदैछन् । शुक्रवार विहान ७ बजे सिन्धुली सदरमुकामबाट ठुलो संख्यामा नेता कार्यकर्ताहरु नारायणी नदी किनारमा समुद्घाटन हुने कार्यक्रममा सहभागीताका लागि जानेभएका छन् । एमाले सिन्धुलीले जिल्लाका ९ वटा स्थानीय तहका पालिका कमिटीहरुलाई सवारी साधन र कार्यकर्ताको संख्यानैं तोकेर परिपत्र गरेको थियो । पार्टी अध्यक्ष प्रदीप कटुवाल र सचिव शान्तिमान कार्कीले हस्तार गरेर पठाइएको परिपत्र अनुसारको सम्पुर्ण तयारी पुरा भएको प्रचार विभाग प्रमुख प्रल्हाद पोखरेलले सन्देश जनप्रियलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार चितवनका लागि जिल्लाबाट १२५ वटा बस, ८१ वटा साना गाडी, ८१० वटा मोटर साइकलमा १६ हजार ४ सय नेता कार्यकर्ताहरुको सहभागिता रहने छ । प्राप्त विवरण अनुसार कमलामाई नगरपालिकाबाट २८ वटा बस, २० साना गाडी र २०० वटा मोटरसाइकल मार्फत ५ हजार नेता कार्यकर्ता तयार पारिएको छ । त्यसैगरी दुधौली नगरपालिकाबाट २८ वटा बस, २० वटा सानागाडी र २ सय मोटरसाइकल मार्फत ३५०० सहभागी, तीनपाटन गाउंपालिकाबाट १५ वटा बस, ५ वटा साना गाडी र ५० वटा मोटरसाइकल मार्फत २५०० सहभागी, फिक्कल गाउँपालिकाबाट ७ वटा बस, ५ वटा साना गाडी र ५० वटा मोटरसाइकल मार्फत ७०० सहभागी, गोलन्जोर गाउँपालिकाबाट ५ वटा बस, ५ वटा साना गाडी र ५० वटा मोटरसाइकल मार्फत ७०० सहभागी, सुनकोशी गाउँपालिकाबाट १० वटा बस, १५ साना गाडी र ७५ मोटरसाइकल मार्फत १५०० सहभागी, ध्यांगलेख गाउँपालिकाबाट २ वटा बस, १ साना गाडी र १० वटा मोटरसाइकल मार्फत ३०० सहभागी, मरिण गाउँपालिकाबाट १५ वटा बस, ५ वटा साना गाडी र १०० वटा मोटरसाइकल मार्फत २००० सहभागी र हरिहरपुरगढी गाउँपालिकाबाट १५ वटा बस, ५ वटा साना गाडी र ७५ वटा मोटरसाइकल मार्फत २००० कार्यकर्ताहरु लाई चितवन लगिने छ । एमाले उपाध्यक्षसमेत रहेका
पोखरेलले शुक्रवार पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने १० औं महाधिवेशनको सम्पूर्ण व्यवस्थापकीय तयारी पुरा भएको जानकारी दिनुभयो । सिन्धुलीबाट चितवन जाने सवारी साधानहरुको नम्बर, चालकको मोवाइल नम्बरसमेत अभिलेख राखिएको बताउँदै नेता पोखरेलले सबै सवारीसाधनलाई एकै साथ हिंडाउने तयारी गरिएको उल्लेख गर्नुभयो ।
मनहरीमा खानपानको व्यवस्था
सिन्धुलीबाट सहभागी हुने एमाले नेता कार्यकर्ताहरुलाई मकवानपुरको मनहरीको रंगशाला मैदानमा सादा खानाको प्रबन्ध मिलाइएको छ । सिन्धुलीकै कमलामाई पार्टीै प्यालेसले प्रति व्यक्ति १२० रुपैयाँका दरले खाना खुवाउने कार्यक्रम तय गरिएको थाहा भएको छ ।
बाटैमा पिकनिक
तीनपाटन गाउँपालिका कमिटीले महाधिवेशनमा सहभागीहुनेहरुले पिकनिकर्कै शैलीमा खाना खाने भएका छन् । उनीहरुले महाधिवेशनमा पालिकाकाका संगठित र साधारण सदस्यहरुसँग रकम उठाउँदै आफैंले खाना पकाएर खाने भएका छन् । अध्यक्ष छत्र दाहालका अनुसार पार्टीका साथीहरुले पिकनिक पनि हुने र रमाइलो पनि हुने भएकाले बसमा पकाउने भाँडादेखी ग्याँस चुल्होसम्म लिएर जाने तयारी गरिएको छ ।
पदाधिकारी सर्वसम्मत नहुने
नेकपा एमालेले १० औं महाधिवेशनमा अध्यक्ष लगायत मुख्य पदाधिकारी सर्वसम्मत गर्ने भनिएपनि त्यस्तो अबस्था नरहेको देखिएको छ । उपाध्यक्ष, सचिवलगायतका पदमा आकांक्षीहरु धेरै भएपनि अध्यक्ष ओली निर्वाचन गराउने पक्षमा देखिनुभएको हो । सोही कारणले पनि मंगलवारै एमालेले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । स्थायी कमिटी बैठकमा केन्द्रीय निर्वाचन आयोग अध्यक्ष डा. बिजय सुब्बाले निर्वाचन कार्यतालिका पेश गर्नुभएको हो । कार्यतालिका अनुसार महाधिवेशनमा मंसिर ११ गते उम्मेदवारी दर्ता र १२ गते मतदान हुने भएको छ । एमाले प्रचार विभाग प्रमुख एवं सचिव योगेश भट्टराईका अनुसार ११ गते उम्मेदवारी दर्ता, फिर्ता लगायतका प्रक्रिया पूरा हुनेछ । १२ गते विहान ८ बजे नै मतदान सुरु हुनेछ । महाधिवेशनको उद्घाटन को दिन साँझ केन्द्रीय कमिटीको अन्तिम बैठक बस्ने सचिव यागेश भट्टराईले जानकारी दिए । यो समाचार सन्देश जनप्रिय साप्ताहिकले लेखेको छ ।