एमालेमा माधवले गरेको क्षती : पहिलो महिला मुख्यमन्त्री गुम्यो, अर्को मुख्यमन्त्री पनि गुमाउँदै

बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएलगत्तै प्रमुख प्रतिपक्ष दल एमालेले तीन वटा प्रदेशबाट मुख्यमन्त्री पद गुमाउनु परेको छ । माधवकुमार नेपालले एमालेका लागि पुर्याउन सक्ने क्षतीको अन्तिम अस्त्र प्रयोग भएपछि एमालेले प्रदेशको मुख्यमन्त्री गुमाउनु परेको हो ।

एमालेबाट अलग भएर गठन भएको नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेलाई सत्तारुढ गठबन्धनले भावी मुख्यमन्त्रीको दाबेदारका रूपमा प्रस्तुत गर्ने निर्णय लिएको केही दिनमै एमालेले तीनवटा मुख्यमन्त्री पद गुमाउनु परेको हो । बाग्मती प्रदेशकी मुख्यमन्त्री शाक्यले राजीनामा दिएसँगै एमालेले लुम्बिनी र गण्डकीसहित तीनवटा प्रदेश मुख्यमन्त्री गुमाउनु परेको हो ।

गण्डकी र लुम्बिनीमा क्रमशः माओवादीका कुलप्रसाद केसी र गण्डकीमा कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले जिम्मेवारी सम्हालिरहनु भएको छ । गत भदौ २ गते एमालेका तर्फवाट मुख्यमन्त्री चयन हुनुभएकी शाक्य बुधबारबाट जिम्मेवारीमुक्त हुनुभएको हो । उहाँ मुलुक संघीय शासन व्यवस्थामा गएपछि पहिलो महिला मुख्यमन्त्री बनेको रेकर्ड भने कायम भएको छ ।

एमालेका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले ‘पार्टी एकताका लागि’ भन्दै गत भदौ २ गते राजीनामा दिएलगत्तै शाक्य मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । एमालेले मुख्यमन्त्री गुमाएका तीनमध्ये लुम्बिनीमा माओवादी केन्द्र, गण्डकीमा कांग्रेस तथा बाग्मतीमा नेकपा एकीकृत समाजवादीले नेतृत्व गर्ने भएका छन् ।

गत २७ साउनमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएलगत्तै माआवादीका कुलप्रसाद केसी मुख्यमन्त्री बनिसक्नु भएको छ भने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गत २६ वैशाखमा राजीनामा दिएलगत्तै कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।