प्रधान न्यायाधीश राणालाई इजलास बहिष्कार गरेका न्यायाधीशहरुद्धारा राजीनामा गर्न आग्रह

सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई राजीनामा दिन आग्रह गर्ने भएका छन्।

इजलास बहिष्कार गरेर सामूहिक छलफलमा जुटेका न्यायाधीशहरुले मंगलबार प्रधानन्यायाधीश राणालाई भेटर राजीनामाका लागि आग्रह गर्ने निर्णय गरेका हुन्।

एक न्यायाधीशले  बैठकपछि भने, ‘हामीले भोलि ११ बजे प्रधानन्यायाधीशलाई भेटेर राजीनामाका लागि आग्रह गर्ने निर्णय गरेका छौँ।’

विवादास्पद बनेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नियमित जस्तै पेशी तोकी आफू बाहेकका न्यायाधीशको इजलास तोकेका थिए ।

तर न्यायाधीशहरु भने इजलासमा नगएर सामूहिक छलफल गरेका हुन् । प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट बैठकमा नजाने निर्णय गरेको न्यायाधीशहरुले इजलास पनि बहिष्कार गरेर छलफल गरेका हुन् ।

सोमबार प्रधानन्यायाधीशसहित १३ जना न्यायाधीश सर्वोच्चमा उपस्थित छन् । न्यायाधीशहरु इजलासमा नगई बैठकमा बसेपछि पेशी तोकिएका २ सय १६ मुद्दा प्रभावित भए । सोमबार घर बिदामा रहेका कारण न्यायाधीश कुमार चुडाल अदालत उपस्थित छैनन् ।

यस्तै सपना प्रधान मल्ल र अनिलकुमार सिन्हा खप्तड घुमघाममा छन् । न्यायाधीश ईश्वर खतिवडा अमेरिका, तेजबहादुर केसी घर बिदामा र नहकुल सुवेदी बिरामी भएका कारण अदालतमा उपस्थित छैनन् ।