प्रधानन्यायाधीश राणा भेट्दै बारका केन्द्रीय पदाधिकारी

विवादास्पद बनेको न्यायपालिका सुधारका सम्बन्धमा नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग भेटवार्ता गर्ने भएको छ। एसोसियसनले आइतबार प्रधान्यायाधीश राणालाई भेटेर न्यायपालिकामा देखिएको विसंगति सुधार गरी न्यायपालिकाको समग्र सुधारका सम्बन्धमा छलफल गरिने अध्यक्ष चन्डेश्वर श्रेष्ठले जानकारी दिएका छन्।

बार अध्यक्ष वरिष्ठ अधिवक्ता श्रेष्ठले भने, ‘हामीले प्रधानन्यायाधीशज्यूसँग समय लिइसकेका छौँ। बिहान साढे १० बजेपछि छलफल हुनेछ। न्यायपालिकाको विसंगति हटाएर समग्र सुधारका विषयमा छलफल गर्नेछौं।’

विवादमा तानिएका प्रधानन्यायाधीशका बारेमा बार उनैलाई भेटेर प्रस्ट हुन चाहेको छ। बारको शुक्रबारको बैठकले अदालतमा स्वचालित पेशी प्रणाली लागू गराउन र सो प्रणाली लागू गर्न प्राविधिक रुपले केही समय लाग्ने भएमा गोला (राफल) प्रणालीबाट पेशी तोक्ने सुझाव प्रतिवेदन कार्यान्वयन गराउन १५ दिने अल्टिमेटम दिएको थियो। बारका पदाधिकारीले आइतबार प्रधानन्यायाधीश राणालाई भेटेर समग्र विषयमा छलफल गर्ने भएका छन्।

यस्तै न्यायालयमाथि उठिरहेका प्रश्न, संवैधानिक आयोगमा नियुक्तिसम्बन्धी मुद्दामा अवरोध, न्यायपालिकाको सुधारको लागि न्यायाधीश हरिकृष्ण कार्की समितिको प्रतिवेदन कार्यान्वयन, न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिकलगायतका विषयमा प्रधानन्यायाधीशसँग छलफल हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए।