प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आलोचना गर्न पनि लायक नरहेको टिप्पणी गरेका छन्।
सरकारको सय दिन पूरा भइरहँदा पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले आलोचना गर्न पनि लायक नरहेको प्रतिक्रिया जनाए।
काठमाडौंमा बुधबार आयोजित नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठक उद्घाटन गर्दै उनले वर्तमान सरकार कसले चलाएको छ भनेर कसैले आकलन गर्न सक्ने स्थिति नरहेको दाबीसमेत गरे।
उनले भने, ‘अहिलेको सरकार एक खालको नायवीद्वारा चलाइएको निमित्त नायकको सरकार हो।’ यो सरकार टिप्पणी गर्न पनि लायक नरहेको उनले बताए।
अध्यक्ष ओलीले देशलाई आगामी निर्वाचनबाट एमालेको विजय चाहिएको बताए। अन्य पार्टीसँग देशलाई अघि बढाउने कुनै दृष्टिकोण नभएको उनको दाबी थियो।
कांग्रेस अगामी निर्वाचनमा आफ्नो पार्टीको मुख्य प्रतिस्पर्धी भए पनि जनतामा जाने कुनै एजेन्डा नरहेको उनले बताए। उनले भने, ‘देशलाई चाहिएको एउटै मात्र कुरा छ, त्यो हो एमालेको दिग्विजय।’ च्याखे राख्नेले सानोतिनो रकम छ्यास्स यतापट्टी, उटापट्टी भनेर हालेजस्तो चुनावबाट पनि च्याखेहरूलाई आउन गरिदिनुपर्ने उनको भनाइ छ।
उनले भने, ‘हाम्रो मुख्य प्रतिस्पर्धा भनेकै कांग्रेससँग हो।’ अध्यक्ष ओलीले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई निर्वाचनबाट जनताले बदर गरिदिने चेतावनीसमेत दिए।
उनले अदालतले जनताबाट विश्वास गुमाइसकेको उल्लेख गर्दै आक्रोशसमेत व्यक्त गरे।
उनले भने, ‘हामीलाई चिन्ता छ। अहिले हेर्नुस् त अदालत अत्यन्त मर्यादित हुनुपर्ने होइन र? जनताले केही भएन भने पनि अदालतमा न्याय पाउँछु भन्ने विश्वास गर्नुपर्ने होइन? हेर्नुस् त महाअभियोग पनि लाग्न सक्छ भनेका छन्। जनस्तरबाट राजीनामा गर भनेका छन्। के–के आरोप छ, तपाई–हामी जम्मै सुनिराखेका छौँ।’ अदालतप्रतिको जनविश्वास धराशयी भएको उनले बताए।
उनले भने, ‘पार्टी दर्ता हुँदैमा कही फरक पर्दैन, दर्ता भएपछि त्यही चुनावसम्म घस्रिएर जाने न हो, चुनावमा त जनताले यस्तो पार्टी दर्तै गर्दैनन्, यस्ता पार्टीलाई चुनावमा जनताले बदर गरिदिन्छन्।’ अध्यक्ष ओलीले देशलाई बेहाल अवस्थाबाट जोगाउने गरी निर्वाचनको तयारीमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराएका थिए।