नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केटी र रक्सीदेखि टाढै बस्न मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाइएका पाँचै जना मन्त्रीलाई आज बोलाएर माधवले यस्तो निर्देशन दिनुभएको हो । अध्यक्ष नेपालले मन्त्रीहरूको सल्लाहकार, पीएलगायतका राजनीतिक नियुक्ति गर्दा पार्टीसँग सल्लाह गरेरमात्रै गर्न पनि दिर्नेशन दिनुभयो ।
‘बदनामी कमाउने र विवादमा पर्ने कुनैपनि कामहरू तपाईंहरूबाट हुने छैनन् भन्ने कुराको हामीले आशा र अपेक्षा गरेका छौँ । मन्त्रीहरू रक्सी खाएर मात्तिए, बेलुका–बेलुका फाइभस्टार होटलमा गएर रक्सी खाइरहेका छन् र आफ्नो क्लाइन्टहरू सँग बसेर यिनै कुरा गरिरहेका छन् भन्नेकुरा सुन्नु नपरोस । सीधा कुरा, रक्सी खाने बानी छ भने पनि बानी त्याग्नुस । अरु आचरण, महिलासँग जोडिएका त्यस्ता कुनै कुराहरू सुन्नु नपरोस । त्यस्ता व्यवहारहरू तपाईंहरूबाट नहोस,’ नेपालको निर्देशन थियो ।
अध्यक्ष नेपालले मन्त्रिपरिषद् बैठकमा आउने विभिन्न विषयवस्तुहरूमाथि अगाडी नै सामूहिकरूपमा बसेर, छलफल गरेर साझा राय बनाएरमात्रै प्रस्तुत हुन पनि निर्देशन दिनुभयो ।