नेपाली कांग्रेसको सम्पन्न ११ जिल्ला सभापतिको निर्वाचनमा सात जिल्लामा सभापति शेरबहादुर देउवा पक्षीय नेताहरू विजयी भएका छन् ।
बिहीबार बिहानसम्म आएको विभिन्न जिल्लाको मत परिणामअनुसार ताप्लेजुङ, मनाङ, रुकुम पूर्व, हुम्ला, रामेछाप, मुगु, गोरखा, संखुवासभा, कालिकोट, दोलखा र मुस्ताङको जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
ताप्लेजुङका गजेन्द्र तुम्याहाङ, मनाङका शंकर गुरुङ, रुकुम पूर्वका केशरमान रोका, हुम्लाका मोहनविक्रम शाही, रामेछापका कान्छाराम लामा, मुगुका ऐनबहादुर शाही र गोरखाका नन्दप्रसाद न्यौपाने देउवा पक्षीय सभापतिहरू हुन् ।
यस्तै, संखुवासभाका दीपक खड्का र मुस्ताङका रोमी गौचन थकाली महामन्त्री शशांक कोइरालानिकट हुन् ।
दोलखाका सभापति बर्मा लामा जिपछिङ लामानिकट हुन् । उनी पनि देउवा पक्षमै आउने सम्भावना छ । कालिकोटका अम्मबहादुर शाही भने नेता रामचन्द्र पौडेल निकट हुन् । हालसम्म सम्पन्न भएका ११ जिल्ला सभापतिहरूमा देउवा पक्षले एकलौटी पकड जमाएको छ ।