संभ्रान्तमा आफ्नो प्रभाव बढाउँदै विप्लव माओवादी

दस बर्षे शसस्त्र जनयुद्वको नेतृत्व गर्दै शान्तिपुर्ण राजनितिक बाटो हुँदै संसदीय राजनितिमा आएको नेकपा (माओबादी) बिभाजनको श्रृंखलाबाट आधा दर्जन बढि पार्टीहरू बनिसकेका छन । तिनै पार्टीहरू मध्येको एउटा घटक हो बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी । प्रचण्डको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) राजनैतिक कार्यदिशामा भएको तिब्र अन्तरबिरोधका कारण २०६९ असार ४ गते पहिलो पटक मोहन बैध (किरण) को नेतृत्वमा बिभाजित बनेको थियो । पार्टी बिभाजन हुनुको कारण शान्ति र संविधानको बाटो या जनविद्रोह भन्ने मुख्य थियो । मोहन बैध नेतृत्वको नेकपा(माओवादी) जनबिद्रोह मार्फत अगाडि बढ्नु पर्ने रणनितिमा लाग्यो ।
प्रचण्ड नेतृत्वको माओवादी केन्द्रसँग छुट्टिएको तीन बर्ष नबित्दै बैध नेतृत्वको नेकपा(माओवादी)बाट २०७१ मंसीरमा नेत्र बिक्रम चन्द (विप्लव) ले छुट्टै नेपाल कम्युनिष्ट पार्टी बनाए । बिप्लबले २०७३ फागुन ४ र ५ मा रोल्पाको थवाङमा महाधिवेशन गर्दै एकीकृत जनक्रान्तिको राजनैतिक कार्यदिशा अगाडि सारे । नेपाली क्रान्तिको नयाँ मोडलको एकीकृत जनक्रान्तिको कार्यदिशा अगाडि सारेको बिप्लब नेतृत्वको नेकपाले प्रतिनिधीसभा निर्वाचन २०७४ को बहिष्कार, बलिउड अभिनेता सलमान खानको नेपाल भ्रमणलाई नेपाली भूमिमा सांस्कृतिक हस्तक्षेपको विस्तारभनेर उद्धृत गर्दै रद्द गरेको थियो । फौजी रूपमा छापामार युद्वकै रूपमा आक्रमण र रक्षाको रणनितिमा रहेको बिप्लब समुहले २०७५ फागुन ११ गते एकजनाको ज्यान जानेगरि ललितपुरको नख्खुमा रहेको एनसेलको प्रधान कार्यालयको प्रवेशद्वारमा गराएको विष्फोटको जिम्मा लिएसँगै सरकारले उनको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
सरकारले लगाएको प्रतिबन्धसँगै बिप्लब नेतृत्वको नेकपा रक्षात्मक अबस्थामै अगाडि बढ्न बाध्य बन्यो । ग्रामीण आधार इलाकाहरूको निर्माण र शक्ति सञ्चयकै अवस्थामा रहेको बिप्लब समूह सरकारी दमनको निशाना नै बन्यो । उपलब्धी भन्दा बढी क्षति ब्यहोर्न बाध्य बन्यो ।
बिप्लब माओवादी जुन सत्ता र ब्यवस्थाको बिरूद्व लडिरहेको थियो अन्तत त्यहि शत्ता र ब्यवस्थासँग शान्तिपुर्ण राजनितिको बाटोलाई स्वीकार गर्दै बार्र्ता र सम्झौता गर्न आईपुग्यो । नेकपा अध्यक्ष केपी ओली नेतृत्वको सरकार र विप्लव नेतृत्वको नेकपाबीच २० फागुन २०७७ मा ३ बुँदे सहमति भयो ।
सरकार र बिप्लब नेकपा बीच राजनीतिक विषयहरुको समाधान संवादको माध्यमबाट गर्ने, विप्लव नेकपाका सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वको प्रतिबन्ध हटाउने, राजनीतिक बन्दीहरुको रिहाइ गर्ने र मुद्दा खारेज गर्ने विषयहरुमा सम्झौता बनेको थियो । बिप्लब समुहले सरकारसँग गरेको ३ बुँद्वे सहमति पश्चात एकीकृत जनक्रान्तिको मोडल रणनैतिक रूपमै संसदीय ब्यवस्थामा नाटकीय अबतरण भएको हो वा उनको शक्ति सञ्चयको कार्यनिति हो भन्ने प्रश्न अहिले उठ्न थालेको छ ।
जनसंघर्ष र फौजी संघर्ष बिच तालमेल, उच्च प्रविधी र निम्न प्रबिधी बिच तालमेल, मोर्चाबद्व र छापामार युद्वको तालमेल, नियमित र अनियमित सेनाको तालमेल र पुरानो सुरक्षा निकायमा बिघटन जस्ता बिशेषताहरू सहित एकीकृत शैन्य रणनिति मार्फत एकीकृत जनक्रान्ति सम्पन्न गर्ने लक्ष्य लिएको बिप्लब नेकपाले संसदवादी दलहरू बिचमा भएको अहिलेको राजनैतिक तरलतालाई शक्ति सञ्चयको अवसरको रूपमा प्रयोग गरिरहेका छन् या संसदीय ब्यवस्था भित्रै आफ्नो स्पेश खोजिरहेका हुन् भन्ने कुरा उनीहरुको पछिल्लो कुटनैतिक नियोग र पूर्व सुरक्षा अधिकारीहरुसँगको भेटघाटले पुष्टि गर्न खोजिरहेको छ ।
बिप्लब नेकपाले जुन सरकारसँग बार्ता गरेको थियो आज सम्म आउँदा त्यो परिस्थितीमा बदलाब आइसकेको छ । संसदवादी दलहरू बीचको समिकरण, राष्ट्रिय राजनिति र अन्तराष्ट्रिय परिस्थितिमा परिवर्तन आईसकेको छ । सुरक्षा निकायले समेत बिप्लब माओवादी आन्तरिक सुरक्षा चुनौतीकै रूपमा रहेको निष्कर्ष निकालिसकेको छ ।
बिप्लब नेकपाले आफ्ना राजनैतिक कार्यदिशा र नाराहरूलाई राष्ट्रिय राजनितिमा प्रवेश गराई सकेको छ । उस्ले राजनितिक प्रणालीका सन्दर्भमा जनमत सग्रह गर्नुपर्ने बिषय अगाडि सारेको छ । सरकारको नियन्त्रणमा रहेका आफ्ना नेता कार्यकर्ता रिहाई, र जन संगठन र जनसम्बन्धलाई बलियो बनाउने काम गरिरहेको छ । मुलत बिप्लब नेकपा एकीकृत जनक्रान्तिकै रणनितिलाई अझ सुदृढ र सुब्यवस्थित गरिरहेको देखिन्छ ।
१० बर्ष जनयुद्व गरेको नेकपा (माओवादी) ले बृहत शान्ति सम्झौता मार्फत आफ्नो सेना र हतियार सरकारलाई बुुझाएर शान्तिपुर्ण राजनैतिक बाटो मार्फत संसदीय राजनितिमा अबतरण भए जस्तो बिप्लब नेकपाले गरेको छैन । ७ बर्ष लगाएर निर्माण गरेको एकीकृत जनक्रान्तिको फौजी संरचना र हतियार उसकै साथमा छ ।
पछिल्लो समय खुल्ला बनिसके पश्चात बिप्लब र उनी नेतृत्वको नेकपाले राजनैतिक पार्टीका नेतृत्व, सुरक्षा निकाय, जनप्रतिनिधी, बुद्दिजिवी, ब्यवसायीहरूसँगको भेटघाट र छलफललाई तिब्र बनाएको छ भने क्रान्तिकारी शक्तिहरूको सहकार्यको बिषयलाई पनि जोड दिदै आएको छ । आधारभुत बर्गसँगको सम्बन्धलाई जोड दिने र अन्य वर्गसँगको सम्बन्धलाई पनि बढाउने रणनितिमा बिप्लब नेकपा देखिन्छ । मुख्यत संसदवादी दलहरू आफै भित्र किचलोमा फसिरहेको मौकामा बिप्लब नेकपाले राष्ट्रियताको सवाल, जनजिविकाको सवाल र राज्यव्यवस्था भित्रका बिकृतिहरूका सवाललाई उठाएर आफ्नो पक्षमा जनमत र संगठन निर्माण गरिरहेको छ । प्रश्न फेरि पनि यति मात्र हो कि बिप्लब र उनी नेतृत्वको नेकपा संसदीय ब्यवस्था भित्र अवसर र स्पेश खोजिरहेका छन् वा एकीकृत जनक्रान्तिको रणनैतिक सफलताको लागि शहरी सम्बन्धलाई मजबुत बनाउन क्रियाशिल हुन् । सन्देश जनप्रिय साप्ताहिकले मुख्य समाचार बनाएर प्रकाशन गरेको छ ।