नेपाल कम्युनिष्ट पार्टी (एमाले) तीनपाटन गाउँपालिका वडा नं. ५ को वडा भेला हिजो सकिएको छ । एमाले सिन्धुलीका सचिव एवम् वागमती प्रदेश कमिटी सदस्य शान्तिमान कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ठूलो संख्यामा पार्टी कार्यकर्ता र सर्वसाधारणको सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधनगर्दे प्रमुख अतिथी कार्कीले नेकपा एमाले प्रति आम जनताको आर्कण बढ्दै गएको बताउनुभयो । उहाँले अगाडि भन्नुभयोः नेकपा एमालेलाई सिध्याउनका लागि प्रचण्ड र माधव नेपाल लगायतका देशी विदेशी शक्तिहरु लागेपनि त्यो असफल बनेका छन् र अब उनीहरु आउँदो निर्वाचनमा एमालेलाई सिध्याउन लागेपनि त्यो सपना पुराहुनेछैन ।
तीनपाटन गाउँपालिकाकी उपाध्यक्ष पदममायाँ तामांगले तीनपाटन गाउँगालिकामा अध्यक्षका तर्फबाट अनियमितता र भ्रष्टचारका कामहरु भएकाले त्यसका विरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्न आवश्यक भएको बताउनुभयो । उहाँले पार्टीलाई मजवुत र शक्तिशाली बनाउन आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने बताउनुभयो । एमाले जिल्ला कमिटी सदस्य शंकर कार्कीले आउँदो निर्वाचनमा एमालेलाई एक नम्बरको पार्टी बनाउन सबैले एकै साथ लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा ९९ सदस्यीय बडा पार्टी कमिटी गठन गरिएको छ ।

