नेकपा एमाले सिन्धुलीमा समानान्तर कमिटीहरुलाई समायोजन गर्ने जिम्मा दिएको कार्यदलमा यो समाचार तयार पार्दासम्म कुनै ठोस सहमति जुटेको छैन । तत्कालिन माधव नेपाल समूहका नाममा सिन्धुलीमा बनेको जिल्ला कमिटी र जनवर्गीय संगठनहरुको समानान्तर कमिटीका नामावलीहरु कार्यदल समक्ष प्रस्तुत भइसकेपनि त्यसको ठोस निर्णय दिन कार्यदलले सकिरहेको छैन । कार्यदल स्रोतका अनुसार माधव नेपाल समूहबाट बुझाइएका कमिटीहरुको नाम आएपछि त्यसलाई कसरी समावेश गर्ने भन्ने कुरामा सैद्धान्तिक सहमति भएपनि अहिले आएर व्यक्ति विषेशमा कुरो अड्किएको बताइन्छ । यद्यपी पार्टीको जिल्ला नेतृत्वलाई कार्यदलले गरेको छलफल र निश्कर्षका विषयमा जानकारी गराइसकिएको भएपनि कुनै ठोस् निर्देशन प्राप्त नभएकाले पनि अहिले अन्योल सिर्जना भएको हो । माधव नेपाल समूहमा लागेका सूर्य पाख्रिनलगायत एकाध जना बाहेक सबै एमालेमैं रहनेगरी गृहकार्य भइरहेको छ । पाख्रिन भने एमालेमा नआउने कार्यदलको बैठकमा छलफल भएको थियो । कार्यदलमा समायोजनका लागि बुझाइएको लिष्टमा पाख्रिनको नामभने समावेश छैन । तर युवा र विद्यार्थीहरुलाई समानान्तर कमिटी बनाएर आफ्ना गतिविधी गरिरहेका दिपेश बराल, दिपेन्द्र फुयाँललगायत सबैको नाम भएकाले पनि सिन्धुली एमालेमा बिभाजनको कुनै पनि असर नपर्ने बताइएको छ । कार्यदलका सदस्यहरुले समानान्तर कमिटीहरुलाई समायोजन गर्दा विगतमा सोही कमिटीमा बसेकाहरु अहिले माथिल्लो कमिटीमा राख्नुपर्ने अबस्था आएपछि कार्यदललाई अहिले संकट आइपरेको छ । कार्यदलमा पेश भएका नामावलीलाई सहर्ष स्वीकार गरेर अगाडि बढ्ने कि त्यसबाट उत्पन्न हुने संकटलाई एकै साथ समाधन गर्ने भन्ने विषयमा कार्यदलका सदस्यहरु बीच सहमति हुन नसक्दा समस्या देखिएको हो । आजको सन्देश जनप्रिय साप्ताहिकले यो समाचारलाई प्रमुखताका साथ छापेको छ ।










