राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीजले समाज र राष्ट्रलाई समेत भावनात्मक एकताको सुत्रमा आबद्ध गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गरेकी छन्।
हरितालिका तीज २०७८ का अवसरमा शुभकामना सन्देश दिँदै उनले तीज पर्वले चेली–माइती, साथी–सङ्गी, परिवार एवं आफन्तजनबीचको सम्बन्धलाई प्रगाढ बनाउने बताएकी छन्। तीज पर्वको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा देखिने भड्किलो र खर्चिलोपनलाई हटाउँदै जानु आवश्यक रहेको राष्ट्रपतिको भनाइ छ।
‘सांस्कृतिक र धार्मिक पर्वका रूपमा हरितालिका तीजको नेपाली समाजमा महत्त्वपूर्ण स्थान रहेको छ, भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइने यस पर्वमा आफ्नो र आफ्नो परिवारजनको कल्याणको लागि तृतीयाका दिन शिव–पार्वतीको र पञ्चमीका दिन सप्तऋषिको पूजा, उपासना गर्नाले मनोकामना पूरा हुने विश्वास रहिआएको छ,’ उनले सन्देशमा भनेकी छन्।
शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले भनेकी छन्, ‘विवाहपश्चात् महिलाहरू आफ्नो जन्मघर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाजलाई छोडेर कर्मघरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा अवसरका रूपमा समेत तीज पर्वलाई महिलाहरूले लिएको पाइन्छ।’
राष्ट्रपतिले तीजले समाजमा विद्यमान महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र असमानताको अन्त्य गर्दै सभ्य, समतामूलक एवं प्रगतिशील समाजको निर्माण गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामना गरेकी छन्।
उनले कोभिड–१९ संक्रमणबाट जोगिन जनस्वास्थ्यका मापदण्डको पालना गर्न पनि सबैमा आह्वान गरेकी छन्।











