नेकपा एमालेले एमसीसी मुलुकको हितमा नरहेको निष्कर्ष निकालेको छ। बुधबार बिहान संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकमा सांसदहरुले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुमोदन गर्न नहुने बताएका हुन्। सांसदहरुले जबसम्म एमसीसीमा संशोधन हुँदैन, तबसम्म एमसीसी अगाडि बढाउनु नहुने धारणा राखेका थिए।
एमाले प्रमुख सचेतक विशाल भट्टराईले एमसीसी मुलुकको हितमा नरहेको बैठकले निष्कर्ष निकालेको जानकारी दिए। बैठकपछि उनले भने, ‘सभामुखको भूमिका एमालेविरोधी माओवादी पार्टी कार्यकर्ता जस्तो भएको, एमसीसी मुलुकको हितमा नरहेको, निर्वाचन आयोग एमाले टुक्राउन उद्धत रहेको, जयसिङ धामीको घटनामा सरकारी व्यवहार भारतीयसामु लम्पसारवादी देखिएको जस्ता विषयमा एमाले मूकदर्शक बस्न अवश्य सक्दैन। आजको बैठकको निष्कर्ष यहि हो।’
बैठकमा सांसदहरूले सभामुख अग्नि सापकोटाको भूमिकालाई लिएर चर्को आलोचना गरेका थिए। उनीहरुले संसद्मा सभामुखको राजीनामा माग्नुपर्ने धारणा राखे। बैठकमा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले एमालेले कारबाही गरेका १४ जनालाई संसद् बैठकमा सहभागी गराइए आफूहरु नबस्ने बताए। उनले गैर सांसदको उपस्थित भए सदन प्रारम्भै हुन नदिने स्पष्ट पारे। ओलीलेले छापामार शैलीमा मध्यरातमा अधिवेशन अन्त्य गरेर राजनीतिक दल सम्बन्धि अध्यादेश ल्याउन सहयोग गरेर पार्टी फुटाएको आरोप लगाए।
प्रधानमन्त्री केपी ओलीले एमसीसीका विषयमा सबैले अध्ययन गरेपछि पार्टीले धारणा बनाउने बताए। बैठकमा एमसीसीका विषयमा एमाले सांसदहरुले पार्टीको धारणा माग गरेपछि ओलीले देशको हितविपरित गएर सम्झौता नगर्ने धारणा राखे।