एमसिसीबारे सरकार स्पष्ट होस्, अनि एमालेको प्रतिक्रिया आउँछः पूर्वअर्थमन्त्री पौडेल

नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले एमसिसीबारे सरकारको धारणा सार्वजनिक गर्न माग गरेका छन्। बुटवलमा प्रेस चौतारी रूपन्देहीले गरेको कार्यक्रममा बोल्दै उनले सरकारले एमसिसीबारे प्रष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताए।

सरकारमा सहभागी दलहरूकै बिचमा फरक फरक विचार आइरहेकाले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताए। पत्रकार सम्मेलनमा नेता पौडेलले भने, ‘पहिला सरकारको आधिकारिक धारणा आओस्, त्यसपछि मात्रै एमालेको प्रतिक्रिया आउने छ । सरकारका घटकबाट अहिले रंगिविरंगी प्रतिक्रिया आइरहेका छन् ।’

उनले अघि भने, ‘प्रधानमन्त्री एउटा कुरा गर्नु हुन्छ, प्रचण्ड अर्को, माधव नेपालको धारणा अर्को छ । पहिले सरकारको धारणा स्पष्ट होस् ।’ नेकपा एमालेले राष्ट्रको हितलाई केन्द्र भागमा राखेर निर्णय गर्ने उनले बताए । नेता पौडेलले भने, ‘एमसिसीका बारेमा निर्णय गर्न कठिन छैन । हामी जनताको चाहना र राष्ट्रको हित केन्द्र भागमा राखेर निर्णय गर्छ ।’

यसैबिच उनले एमाले विभाजनले पार्टीमा असर नपारेको बताउँदै पार्टी जीवनमा काँचुली फेरेको बताए। उनले काँचुली फेरेपछि सर्पको नयाँ जीवनको शुरूवात भएजसरी एमालेको नयाँ जीवन पाएको बताए।

उनले विचार र दर्शनका आधारमा नभई लोभ र अवसरका लागि केही व्यक्तिहरू मिलेर समूह बनाएको बताए। ‘यो भद्दा अवसरवाद हो, उनले भने-उहाहरू अवसरका लागि जनताको बहुदलीय जनवाद समेत त्यागेर जानुभएको छ।’

उनले सरकारले ल्याएको अध्यादेश संसदबाट पारित गर्न चुनौती दिए। पूर्वअर्थमन्त्री पौडेलले आफुले ल्याएको बजेटमाथि भईरहेको संशोधन अपरिपक्व भएको बताए। ‘बजेटमा के कुरामा समस्या छ, आउनुस्, बहस गरौ, कुन विषयमा असहमति हो’, उनले भने।