
अमेरिकी गुप्तचर निकायका अनुसन्धानकर्ताहरु कोरोना भाइरसको उत्पति कहाँबाट भएको र कसरी मानिसमा सरेको भन्नेबारे निष्कर्ष निकाल्न असफल भएका छन् ।
राष्ट्रपति जो बाइडेनको निर्देशनमा अमेरिकी गुप्तचर निकायले झण्डै तीन महिना लगाएर गरेको अध्ययन प्रतिवेदन सार्वजनिक भएको हो ।
प्रतिवेदनमा भाइरसको उद्गम थलो र मानिसमा कसरी सरेको हो भन्नेबारे ठोस निष्कर्ष छैन । अनुसन्धानकर्ताहरु भाइरस प्राकृतिक रुपमा जनावरबाट मानिसमा सरेका वा प्रयोगशालामा भएको दुर्घटनाबाट मानिसमा सरेको भन्नेमा विभाजित देखिएका छन् ।
तर कोरोना भाइरसलाई जैविक हतियार (बायोलोजिकल विपन) का रुपमा भने विकास नगरिएको निष्कर्ष अनुसन्धानकर्ताको छ ।
अमेरिकाका १८ वटा गुप्तचर निकायको प्रमुख संस्था डाइरेक्टर अफ नेशनल इन्टिलिजेन्सको कार्यालयले प्रतिवेदन सार्वजनिक गरेको हो ।
गुप्तचर निकायहरु पहिलोपटक चीनमा देखिएको कोरोना भाइरस प्राकृतिक रुपमा जनावरबाट मानिसमा सरेको हो वा प्रयोगशालामा भएको दुर्घटनाबाट मानिसमा फैलिएको हो भन्ने विभाजित रहेका हुन् ।
सन् २०१९ को अन्तिमतिर चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म विश्वभर झण्डै ४५ लाख मानिसको ज्यान गएको छ ।
विश्वभरका देशहरुले भाइरसको संक्रमण नियन्त्रणमा लिने प्रयास गरिरहेका बेला वैज्ञानिकहरु भने भाइरसको उत्पति कहाँ र कसरी भयो भन्ने खोजीमा लागि परेका छन् ।
वुहान शहरको भ्रमण गरि अध्ययन गरेको डब्लुएचओको टोलीले यो वर्षको सुरुमा सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा वुहानको मासु बजारबाट भाइरस मानिसमा सरेको हुन सक्ने सम्भावना बलियो रहेको उल्लेख थियो ।
सो प्रतिवेदनले वुहान इन्स्टिच्यूड अफ भाइरोलोजीमा भएको दुर्घटनाबाट भाइरस मानिसमा सरेको हुन सक्ने सम्भावना निकै दुर्लभ रहेको बताएको थियो । तर केही वैज्ञानिकहरुले भने सो प्रतिवेदन अस्वीकार गरेका थिए ।
भाइरस प्रयोगशालाबाट चुहावट भएको हुन सक्ने सम्भावनाका सम्बन्धमा विस्तृत अध्ययनको चीनले अवरोध गरेपछि गएको मे मा अमेरिकी राष्ट्रपति बाइडेनले आफ्नो गुप्तचर निकायलाई ९० दिनको समय दिएर अध्ययन गर्न आदेश गरेका थिए ।
वुहान प्रयोगशालाका केही अनुसन्धानकर्ता कोरोना भाइरसको संक्रमण औपचारिक रुपमा बाहिर आउनु भन्दा केही समय पहिले सोही प्रकृतिको लक्षणसहित अस्पताल भर्ना भएको भन्ने गुप्तचर निकायको प्रतिवेदनपछि बाइडेनले अध्ययनको आदेश दिएका थिए ।
अध्ययन प्रतिवेदन अनुसार विभिन्न गुप्तचर निकायका अधिकारीहरुलाई भाइरस प्राकृतिक रुपमै जनावरबाट मानिसमा सरेको हुन सक्ने लागेको उल्लेख छ । तर त्यसमा उनीहरुको ‘कफिडेन्स लेभल’ कम देखिएको जनाइएको छ ।
तर एक गुप्तचर निकायले कोरोना भाइरसको पहिलो संक्रमण प्रयोगशालाबाट मानिसमा सरेको हुन सक्नेमा मध्यम स्तरको ‘कन्फिडेन्स’ देखाएको जनाइएको छ ।
प्रतिवेदन सार्वजनिक भएपछि अमेरिकी राष्ट्रपति बाइडेनले वक्तव्य जारी गरेर अनुसन्धानमा सहयोग र सहकार्य नगरेको भन्दै चीनको आलोचना गरेका छन् । कोरोना भाइरसको उत्पतिबारेको महत्वपूर्ण जानकारी चीनसँग रहेको र उसले अन्तर्राष्ट्रिय अनुसन्धानकर्तालाई ती जानकारीसम्म पुग्नबाट रोकिरहेको भन्दै बाइडेनले आलोचना गरेका हुन् ।
चीनका विदेश मन्त्रीले अमेरिकी गुप्तचर निकायको प्रतिवेदनलाई ‘विज्ञान–विरोधी’ भन्दै स्वीकार्य यसअघि नै बताएका थिए । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले अध्ययनलाई अमेरिकाले बेवास्ता गरेको वा लत्याएको आरोप चिनियाँ विदेश मन्त्री वाङ्ग यीले लगाएका हुन् । अमेरिकाले आफ्नो राजनीतिक स्वार्थ पूर्तिका लागि यस्तो गरेको उनको आरोप छ ।