‘वार्ता र सहमति’ भ्रम हो, बेइमानीको जालमा नपरौँः माधव नेपाल

प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई ‘वार्ता र सहमति’ को भ्रममा नपर्न आग्रह गरेका छन् ।

पहिला नेपाल पक्षमा देखिएका र विभाजनका बेला ‘मध्यमार्ग’ मा रहेका नेताहरुले सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गरेर सहमति गरेको खबर सार्वजनिक भएपछि नेता नेपालले यस्तो अग्रह गरेका हुन् । उनले वार्ता र सहमतिलाई बेइमानी र धोखाधडीको निरन्तरता भनेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दक्षिणपन्थी विसर्जनवाद, विकृति, अन्याय र विसंगतिकाविरूद्ध विद्रोह गर्दै कम्युनिष्ट आन्दोलन र संस्कृतिको रक्षा, मुलुकको समृद्धि एवम् जनतालाई खुशी प्रदान गर्ने लक्ष्यसहित नयाँ कम्युनिष्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा पटक–पटकका बेइमानी एवम् धोखाधडीको निरन्तरता स्वरूप नै ‘वार्ता र सहमति’ का भ्रमपूर्ण समाचारहरू सार्वजनिक भएका छन् ।’

यस्ता प्रयासहरुलाई आफ्ना नयाँ प्रयास विथोल्ने छलकपट भन्दै उनले लेखेका छन्, ‘अतः यस प्रकारका छलकपटपूर्ण समाचारबाट भ्रममा नपरी हाम्रो पार्टी एवम् नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन सम्पूर्ण पार्टी पंक्ति, न्यायप्रेमी एवम् क्रान्तिकारी जनसमुदायमा हार्दिक अपिल गर्दछु ।’ अध्यक्ष नेपाल आफ्नो प्रस्तावित पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरुसहित सोमबार बेलुकादेखि चन्द्रागिरिस्थित रिसोर्टमा छलफलमा छन् ।

माधव कुमार नेपाल – Madhav Kumar Nepal9 hours ago

दक्षिणपन्थी विसर्जनवाद, विकृती, अन्याय र विसंगतिका विरूद्ध विद्रोह गर्दै कम्युनिष्ट आन्दोलन र सॅस्कृतिको रक्षा, मुलुकको समृद्धि एवम् जनतालाई खुसी प्रदान गर्ने लक्ष्य सहित नयॅा कम्युनिष्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा पटक पटकका बेइमानी एवम् धोखाधडीको निरन्तरता स्वरूप नै ‘वार्ता र सहमती’ का भ्रमपूर्ण समाचारहरू सार्वजनिक भएका छन्। अत: यस प्रकारका छलकपटपूर्ण समाचारबाट भ्रममा नपरी हाम्रो पार्टी एवम् नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन सम्पूर्ण पार्टी पंक्ति, न्यायप्रेमी एवम् क्रान्तिकारी जनसमुदायमा हार्दिक अपिल गर्दछु ।