इस्लामिक कानूनमा महिलाको अधिकार सुनिश्चित हुनेछः तालिबान

तालिबानले इस्लामिक कानूनमा पनि अफगानिस्तानमा महिलाहरुको अधिकार सुरक्षित रहने बताएको छ । इस्लामिक कानूनको फ्रेमवर्कमा रहेर अफगान महिलाहरुको सम्मान हुने तालिबानले जनाएको छ ।

गएको आइतबार अफगानिस्तानमा नियन्त्रण कायम गरेपछिको पहिलो पत्रकार सम्मेलनमा तालिबान प्रवक्ताले महिलाहरुलाई काम गर्न छुट दिइने बताएका हुन् । तर केही प्रतिबन्ध र नियमहरु भने लागु हुने बताए ।

प्रवक्ता जबुहुल्लाह मुजाहिदले सबै अफगानहरु इस्लामको ‘फ्रेमवर्क’ भित्र बस्नु पर्ने कुरा बारम्बार दोहोर्‍याए ।

काबुलमा हतियारसहित तालिबान लडाकुहरुले गस्ती गरिरहेका छन् । तस्बिर : इपिए

तालिबानको शासनमा महिलाहरुको अवस्था नाजुक बन्ने र अधिकारहरु खोसिन सक्ने भन्दै अधिकारवादी समूहहरुले चिन्ता व्यक्त गरेका छन् ।

सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानमा आफ्नो नियन्त्रण रहँदा तालिबानले शरिया कानून लागु गरेर इस्लामिक कानूनको कडा व्याख्या गर्दै गम्भीर दण्डको व्यवस्था गरेको थियो । त्यो बेला महिलाहरुले शरीर सबै ढाक्ने बुर्खा लगाउनु पर्ने तथा १० वर्ष र सो माथिका छात्राहरु विद्यालय जान नपाउने नियम लागु गरेको थियो ।

मंगलबार भएको पत्रकार सम्मेलनमा मुजाहिदलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका पत्रकारहरुले तालिबान शासनमा महिलाको अवस्था कस्तो रहने र अधिकारको रक्षा हुन्छ–हुँदैन भनेर सोधेका हुन् ।

उनले भने, ‘हामी महिलाहरुलाई हाम्रो फ्रेमवर्क भित्र रहेर काम गर्न तथा पढ्न दिने छौँ । महिलाहरु हाम्रो समाजमा निकै सक्रिय हुने छन् ।’ तर उनले महिलाको लुगाका सम्बन्धमा हुने कुनै कुरा बताएनन् ।

यसअघि तालिबानले अफगानिस्तानभर आममाफीको घोषणा गरेर आफ्नो सरकारमा महिलाहरु सामेल हुन् भन्ने चाहेको बताएको थियो ।

तालिबानले अफगान र अन्तर्राष्ट्रिय समुदायको मन तथा विश्वास जित्नका लागि उच्च तहको प्रचार अभियान चलाइरहेको विश्लेषकहरुले बताएका छन् ।

तालिबानको पछिल्ला सन्देशहरुप्रति अफगानिस्तान भित्र मिश्रित अवधारणा देखिएको छ । काबुलकी एक महिलाले टेलिभिजन मुजाहिद बोलेको हेरे पनि उनले भनेका कुरामा विश्वास नलागेको बताएकी छन् । अर्की एक महिलाले तालिबानको कानूनमा पढ्न र काम गर्न आफूलाई स्वीकार्य नरहेको बताएकी छन् ।

तर अर्की महिलाले भने आफ्ना लागि पढ्न तथा काम गर्न पाउनु रेड लाइन रहेको र अहिलेसम्म तालिबानले सो रेडलाइन पार नगरेको बताएकी छन् ।