काबुलबाट भागेका अफगानिस्तान राष्ट्रपति अशरफ गनी कहाँ गए?

देश छाडेपछि अफगान राष्ट्रपति अशरफ गनी कहाँ गए भन्ने चासो सर्वत्र देखिएको छ। त्यस्तै त्यहाँका उपराष्ट्रपति अमिरुल्लाह सालेहले पनि काबुल छाडेको बताइएको छ। सुरुमा राष्ट्रपति गनी भागेर ताजिकिस्तान गएको बताइएको थियो।

तर पछि अल जजिरा टेलिभिजनले उनी उज्बेकिस्तानको राजधानी तासकन्द पुगेको समाचार प्रसारित गर्‍यो। अल जजिराका अनुसार राष्ट्रपति गनी, उनकी पत्नी, सेना प्रमुख र राष्ट्रिय सुरक्षा सल्लाहकार तासकन्द पुगेका हुन्।

अशरफ गनी

अल जजिराले राष्ट्रपतिका निजी सुरक्षा गार्डलाई उद्धृत गर्दै यस्तो समाचार दिए पनि त्यसको स्वतन्त्र पुष्टि भएको छैन।

देश छाडेपछि राष्ट्रपति गनीले के भने?

यसैबीच एउटा फेसबुक पोस्टमा अफगान नागरिकहरूलाई सम्बोधन गर्दै गनीले काबुल छाड्नु आफ्ना लागि एउटा कठिन फैसला भएको बताएका छन्। उनले “रक्तपात रोक्नका लागि” उक्त निर्णय लिएको भन्दै स्पष्टीकरण दिएका छन्।

उनले आफू काबुलमा रहँदा रहँदै तालिबान काबुल आइपुग्दा झडप हुन्थ्यो र त्यसले लाखौँ मानिसको ज्यान खतरामा पर्न सक्थ्यो भनेका छन्। गनीले फेसबुक पोस्टमा लेखेका छन्, “आज मैले एउटा कठिन निर्णय गर्नुपर्ने थियो। तालिबान (राष्ट्रपति भवन) मा आउन चाहन्थे, उनीहरूसामू उभिऔँ वा आफ्नो प्यारो देश जसको सुरक्षार्थ विगतका २० वर्ष मैले आफ्नो जीवन समर्पण गरेँ त्यसलाई छौडौँ ?”

“त्यस क्रममा अनगिन्ती मानिसहरू मारिन्थे र हामीले काबुल सहरको विध्वंश देख्नुपर्थ्यो, त्यसबाट ६० लाख जनसङ्ख्या भएको सहरमा ठूलो मानवीय त्रासदी उत्पन्न हुन्थ्यो।”

उनले तालिबानले हतियारको बलमा विजय हासिल गरेको लेखेका छन्।

त्यस्तै उनले अब अफगानहरूको इमान, सम्पत्ति तथा आत्मसम्मानको रक्षाको जिम्मा तालिबानको भएको बताएका छन्।

उनले लेखेका छन्, “तर उनीहरूले मन जित्न सक्दैनन्। इतिहासमा कहिल्यै पनि कसैलाई पनि शक्तिले मात्र यो हक प्राप्त भएको छैन र मिल्ने पनि छैन। अब उनीहरूले एउटा ऐतिहासिक परीक्षाको सामाना गर्नुपर्नेछ।”

तालिबानसँगको वार्ताको नेतृत्व गरेका अब्दुल्लाह अब्दुल्लाहले गनी देशबाट पलायन भएको आइतवार नै पुष्टि गरेका थिए। उनले फेसबुकमा एउटा भिडिओ पोस्ट गर्दै गनीको आलोचना गरेका छन्।